आगामी मंसिर ४ गते हुने भनिएको संविधान सभाको चुनावमा नेपाली फिल्मकर्मी उठ्ने चर्चाले व्यापकता पाईरहेको छ । कतिलाई सम्बन्धित पार्टीले सिफारिस गरेको बताईएको छ भने कति सिफारिसकै रक्सारक्सीमा छन् । तर पनि टिकट पाउने या नपाउने टुंगो कसैको छैन ।
सिफारिस गर्ने लिस्टमा पहिलो निर्माता रोज राणा परेका छन् । रोजलाई प्यूठानको क्षेत्र नम्बर २ बाट उठाउन नेपाली काँग्रेसको क्षेत्रीय समितीले सिफारिस गरेको चर्चा चलिरहेको छ । रोजले आफ्नो जन्मथलोबाट टिकट पाए प्रत्यक्ष नै चुनाव लड्ने बताएका छन् । नाम सिफारिस भए पनि रोजले टिकट पाउने या नपाउने ? टुंगो लाग्न बाँकी नै छ ।
यस्तै काँग्रेसकै तर्फबाट अभिनेता राजेश हमालको नाम पनि सिफारिस हुने हल्ला चलिरहेको छ भने अर्का अभिनेता भुवन केसी पनि सिफारिसकै चक्करमा छन् । भुवनले पाएसम्म काठमाण्डौबाट नै नेकपा एमालेको तर्फबाट उठ्ने बताएका छन् ।
अभिनेत्री रेखा थापा एनेकपा माओवादीको तर्फबाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा छिन् । रेखा कहाँबाट उठ्ने भन्ने टुंगो लागेको छैन तर उनी जहाँबाट टिकट पाएपनि प्रत्यक्ष लड्ने बताउँछिन् । यस्तै निर्देशन दिनेश डिसी र गायिका तथा अभिनेत्री कोमल ओलीको पनि टिकट पाए चुनाव लड्ने चर्चा छ ।
यता फिल्मकर्मी उद्धब पौडेललाई राप्रपा नेपालले केन्द्रिय सदस्य बनाएको छ । गोपीकृष्ण मुभिज प्रालि, गोपीकृष्ण इन्टरटेनमेण्ट प्रालि तथा नेपाल चलचित्र विकास कम्पनी लिमिटेडका पूर्व अध्यक्ष पौडेल राप्रपाको तर्फबाट चुनावमा उठ्ने अन्तिम कसरतमा छन् ।

