सिन्धुपाल्चोकको मुडेमा छायाँकन भईरहेको फिल्म 'हँसिया'की नायिका हेमा श्रेष्ठ अचानम बिरामी परेकी छिन् । क्लाईमेक्स सुटिङका क्रममा हेमा बिरामी भएपछि फिल्म युनिटले उनलाई अक्सिजन दिएर रेस्टमा राखेको छ ।

'मौसमको खराबी र धेरै भागदौडले गर्दा हेमा बिरामी परेकी हुन्,' निर्देशक मिलन चाम्सले फिल्मीखबरलाई जानकारी गराउँदै भने- 'अरु टेक्निसियन र फाईटरहरूको पनि स्वास्थ्य अवस्था राम्रो छैन ।' मुडे बजारबाट डक्टर बोलाएर हेमालाई अक्सिन तथा तातो बाफ दिईएको मिलनले जानकारी गराए ।
गत शुक्रबारबाट १० दिनको सेड्यूल निकालेर १०७ जनाको जम्बो टोली क्लाईमेक्स सिनको सुटिङका लागि मुडे पुगेको हो । खराब मौसमका कारण सुटिङ अबरूद्ध हुँदै आएको निर्देशक चाम्स बताउँछन् । 'एकातिर कलाकार बिरामी पर्नु अर्को तिर मौसमले गर्दा सुटिङ हुन नसक्नु, सार्है टेन्सन पो बनाएको छ त,' निर्देशक चाम्सले भने- 'अझै कति दु:ख पो पाईने हो ।'

७० प्रतिशत सुटिङ सकिएको जानकारी गराउँदै निर्देशक चाम्सले बाँकी ३० प्रतिशत सुटिङका लागि अझै २५ दिन जति लाग्ने बताए । 'यस्तै मौसम भयो भने त अझै कति दिन लाग्छ भन्न सकिन्न,' उनले भने । यो फिल्ममा दुर्गा घले, सोम श्रेष्ठ र जितेन्द्र चेम्जोङको संयुक्त लगानी छ ।
देशमा भईरहेका अपराध, गुण्डागर्दी, राजनैतीक चलखेल, हत्या, हिंसा, बलत्कार जस्ता सामाजिक अपराधलाई चिरफार गर्ने फिल्म 'हाँसिया'मा हेमाको साथमा राजेश हमाल, अनुप बिक्रम शाही, बिशाल ढुंगाना, आलोक कार्की, बिजय कुँवर, किरण राई, शिशिर राणाको साथमा बालकलाकार प्रशंशा शाहको अभिनय गर्दैछन् । यस्तै फिल्ममा पहिलो मिस नेपाल रूवी राणाको पनि बिशेष भुमिका रहेको छ । फिल्मको एउटा आईटम गीतमा अभिनेत्री झरना बज्राचार्यको आकर्षक डान्स रहने बताईएको छ ।

