२०६१ भदौ पन्ध्र गते (नेपालीका लागि कालो दिन) इराकमा हत्या गरिएका १२ जना नेपालीको विषय माथि निर्माण गरिएको 'बाह्र नेपाली एक चिहान' नामक फिचर फिल्मको पहिलो आवरण सार्वजनिक गरिएको छ । भदौ १५ कै छेको पारेर फिल्मको ट्रेलर एवम पोस्टर्स आउट गरिएको हो ।
निर्माण युनिटले हिजो सर्वनाम नाटक घरमा पहिलो आवरण सार्वजनिक कार्यक्रम राखेको थियो । फिल्मका निर्देशक अरुण प्रधान, निर्देशक लक्ष्मीनाथ शर्मा, निर्माता संघका अध्यक्ष राजकुमार राई र माई ईन्भेष्टमेन्ट ग्रुपका चियरम्यान अनिल गजमेरले संयुक्त रुपमा फिल्मको पोष्टर्स सार्वजनिक गरे ।
२०७० भदौ १५ गते फिल्म प्रदर्शन गर्ने लक्ष्य विविध कारणले सफल हुन नसकेको निर्देशक प्रधानले बताए । उनले भने- 'हामी घटनाको वास्तविकतामा पुग्ने कोसिश गरेका छौं । यसले इराक घटनाको दस्तावेजलाई सुरक्षित राख्नेछ ।' त्यस्तै फिल्मका मख्य पात्र राजन खतिवडा, उत्तम जंग लिम्बु, रविन्द्र झाले इराकमा नेपालीले पाएको कष्टलाई अनुभव गर्ने मौका पाएको भनाई राखे ।

कार्यक्रममा हत्या गरिएका केही परिवारका सदस्यसँग गरिएको कुराकानीको भिडियो पनि देखाइएको थियो । कार्यक्रममा गायक शिव परियारले फिल्ममा राखिएको एउटा गीत समेत गाएका थिए । उनले सत्य घटनामा आधारित फिल्ममा स्वर दिन पाउनु सुनौलो अवसर रहेको बताए । निर्माता संघका अध्यक्ष राई, निर्देशक शर्मा र माई ईन्भेष्टमेन्ट ग्रुपका चियरम्यान गजमेरले फिल्म सफलताको लागी शुभकामना दिए ।

संगीता प्रधान निर्माता रहेको यस फिल्मलाई सुरुमा विदेशी मुलुकमा प्रदर्शन गरिनेछ । विदेशी प्रदर्शनको प्रतिक्रिया पछि नेपाल रिलिज गरिने निर्देशक प्रधान बताउँछन् । फिल्ममा शेरबहादुर लामाको क्यामेरा, प्रवलदिप विश्वास र कुन्दन राईको संगीत छ । बाह्र नेपाली एक चिहानमा राजन खतिवडा, जतिन ताम्राकार, रविन्द्र झा, विक्रम सिंह, उत्तम जंग लिम्बु, राम भजन कामत, सुशील थापा मगर, घनश्याम मिश्र, निरञ्जन मेहता, सोनु जयन्ति लगायतका कलाकारको अभिनय छ । फिल्ममा अभिनय गर्ने कलाकारहरू गुरुकुल थिएटर, मण्डला थियटर, मिथिला नाट्य परिषद, अनाम नाट्य समुह, सृष्टी नाट्य समुह, मगर चलचित्र संघ, संवाद समुहमा आवद्ध छन् ।

फिल्मका लेखक एवम निर्देशक अरुण प्रधानले इराकमा मारिएका १२ जना नेपालीको नाममा अक्षय कोष खडा गरी बाह्र नेपाली एक चिहानले गरेको व्यापारको दश प्रतिशत उक्त कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । उक्त कोषमा जम्मा हुने रकम प्रभावित परिवारलाई उपलब्ध गराइने निर्देशक प्रधानले बताएका छन् । त्यस्तै माई ईन्भेष्टमेन्ट ग्रुपका चियरम्यान गजमेरले अक्षय कोषमा जम्मा भएको रकमको दश प्रतिशत आफुले जम्मा गर्ने बताए ।

