नेपाली फिल्ममा आफै पैसा हालेर हिरो बन्नेको जमात ठुलै छ । कति पैसा हालेर चर्चित पनि भएका छन् भने कति आफ्नो रहर मात्र पूरा गरेका छन् । यहि भिडमा नायक निरज बराल भने अपवादको रूपमा प्रस्तुत हुँदैछन् ।
हिरो निर्माता बन्ने लिस्टमा थपिन लागेका 'कुसुमे रूमाल २' डेब्यू हिरो निरजले निर्माण गर्न लागेको फिल्म 'स्टुपिड मन'मा जीवन लुईटेलले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् । भाद्र अन्तिम सातादेखि थाईल्याण्डमा सुटिङ हुने लभ स्टोरी फिल्म 'स्टुपिड मन'मा जीवनको साथमा निरज पनि अभिनेताको रूपमा देखिनेछन् । मोडलिङ व्याकग्राउण्डबाट आएका यि दुई ह्याण्डसम अभिनेता दोस्रो पटक स्क्रिनमा एकसाथ देखिन लागेका हुन् । यसअघि जीवन र निरजले नरेश पौड्यालको फिल्म 'दिपशिखा'मा देखिएका थिए ।
व्यवसायिक रूपमा असफल फिल्म दिपशिखाबाट दर्शक तान्न नसकेका निरज र जीवनले 'स्टुपिड मन'बाट भने दर्शकलाई कत्तिको आकर्षित गर्छन् त ? प्रतिक्षाको बिषय हुनेछ । पछिल्लो समयका अवार्ड समारोहमा राज गरेका जीवन केहि समय अगाडी बिन्दास २ र सिसाको सुटिङ सकेर हाल सुकुल गुण्डाको सुटिङमा व्यस्त छन् भने निरज प्रतिक्षित फिल्म सेफ ल्याण्डिङको रिलिज पर्खाईसँगै 'स्टुपिड मन'को प्रि-प्रोडक्सनमा व्यस्त छन् ।

मेरो जीवन साथी फिल्मबाट निर्देशनमा डेब्यू गरेका दिवाकर भट्टराईले निर्देशन गर्ने यस फिल्मको पटकथा सामिप्य तिमल्सेनाको रहेको छ । सामिप्यले यसअघि दिवाकरकै फिल्म लेखेका थिए । अर्जुन पोखरेल र करण राज कार्कीको संगीत रहने यो फिल्मले मानव ओसारपसारको कथा भन्ने छ । बिशेषत: थाईल्याण्डमा पुगेर अलपत्र बनेको एक युवकसँग सोही ठाउँमा रहेकी बर्मेली नेपाली भाषी युवतीसँगको प्रेमकथालाई फिल्मले प्रस्तुत गर्नेछ ।
सुभेच्छा फिल्म्सको व्यानरमा निर्माण हुने यो फिल्मका अर्का लगानीकर्ता विवेक शाही पनि हुन् । फिल्मलाई संजय लामाले खिच्नेछन् । फिल्ममा दुई नयाँ अनुहार चाँदनी शर्मा र रिजु श्रेष्ठ देखिने छन् भने अन्य कलाकार र प्राबिधिकको छनोट कार्य जारी छ । निर्माण युनिटले केहि दिनमा फिल्मको बारेमा थप जानकारी दिन प्रेस भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ ।

