गत वर्षहरुमा जस्तै यस वर्ष पनि अभिनेत्री रेखा थापा र अभिनेता भुवन केसी गाईजात्रे कार्यक्रममा हाँस्य व्याङ्ग्यको पात्र बनेका छन् । 'तिते जिरे मेरी बास्सै' समुहले कमलादीस्थित प्रज्ञा भवनमा गरिरहेको गाईजात्रे कार्यक्रममा रेखा र भुवनलाई राम्रैसँग छेडछाड गरिएको छ ।

शैलेन्द्र सिम्खडाको हाँस्य कवितामा होस् या मनोज गजुरेलको गजुरियलमा होस् वा तितो सत्यको व्यङ्ग्यात्मक झटारो, रेखा र भुवन उछितोको पात्र बनेका छन् । विशेषतः उनीहरुको पार्टी प्रवेश र फिल्मी छविलाई व्यङ्ग्यात्मक मसला बनाइएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अभिनेत्री रेखा थापालाई पार्टीमा प्रवेश गराएर मोहन वैद्यलाई निकालेको र भुवन केसी एमालेमा प्रवेश गरेपछि नेता देखि कार्यकर्तासम्म उच्छृङखल भएको लगायतका विषय माथि व्याङ्ग्य बनाइएको छ ।
रेखा र भुवन अनिश्चत संविधान सभा निर्वाचनमा उम्मेरद्धारी दिने चर्चा छ । यद्यपी यसबारे उनीहरुले मुख खोलिसकेका भने छैनन् । रेखा र भुवनसँगै अभिनेता राजेश हमाल, अभिनेत्री करिश्मा मानन्धर लगायतलाई पनि गाईजात्रे विषय बनाइएको छ । भदौ ५ गते देखि प्रज्ञा भवनमा सुरु भएको तिते जिरे गाई जात्रे कार्यक्रम यही १६ गते सम्म सञ्चालन हुनेछ । बिदाको दिन दिउँसो साढे एक बजे र साँझ पाँच बजे देखि शो शुरू हुनेछ । अन्य दिनमा भने एक शो मात्रै चल्छ ।

गत वर्षहरुमा भन्दा हलमा दर्शकको चाप बढेको अभिनेत्री दिपाश्री निर्रौलाले बताईन् । उनले भनिन्- 'दर्शकले हाँस्य व्याङ्ग्यलाई औधी रुचाउनु भएको छ । अझै एक महिना सञ्चालन गर्नुपर्ने भन्ने दर्शकको माग छ ।' तितो सत्य समुहका दिपकराज गिरी, दिपाश्री निर्रौला, निर्मल शर्मा (गैंडा), मेरी बास्सैका सिताराम कट्टेल (धुर्मुस), केदार शर्मा (माग्ने बुढा), कुञ्जन घिमिरे (सुन्तली) र जिरे खुर्सानीका शिवहरी पौडेल (मुखा हान्नु जस्तो), जितु नेपाल (मुन्द्रे), किरण केसी (राता मकै) लगायतको हाँस्य व्यङग्यमा रमाउन सकिन्छ ।

