राष्ट्रपतिको हातबाट वितरण गर्ने भनिएको चलचित्र विकास विकास वोर्डले आयोजना गर्ने राष्ट्रिय चलचित्र पुरस्कार सरेर कार्तिक महिनामा पुगेको छ । राष्ट्रिय पुरस्कारको मिति बारे वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैता 'पप्पु'ले फिल्मखबर समक्ष मुख खोलेका हुन् ।
अध्यक्ष पप्पु भन्छन्- 'कार्तिकमा अवार्ड हुने गरी तयारी भैरहेको छ ।' यो संस्करणमा अवार्डको लोगो परिमार्जित हुने उनले बताए । अवार्डको लोगो सुन्दर श्रेष्ठले तयार गर्दैछन् । डिजाइनर श्रेष्ठको हात फ्याक्चर भएकाले तत्काललाई लोगो डिजाइन गर्ने कार्य रोकिएको छ । विकास वोर्डको बार्षिक उत्सवमै हुने भनिएको अवार्ड राष्ट्रपतिले समय नदिएका कारण रोकिएको थियो ।
धरान महोत्सव पछि उत्पन्न घटनाक्रमले राष्ट्रपति अवार्ड बाँड्न ईच्छुक देखिएका थिएनन् । राष्ट्रपतिले अवार्ड बाँड्न समय दिन आनाकानी गरेपछि विकास वोर्डले अवार्ड वितरण गर्न सकिरहेको थिएन । अवार्ड राष्ट्रपति भवनमा नै वितरण गरिने पप्पु बताउँछन् । अवार्डका लागी जुरीले फिल्म हेरेर सिफारिस गरिसकेको छ । जुरी सदस्यमा सञ्चारकर्मी प्रकाश सुवेदी, शान्ति प्रिय, तपोनाथ शुक्ला, निर्देशक शैलेश आचार्य छन् । अवार्डमा वर्ष ०६७,०६८ र ०६९ का ८० फिल्म सहभागी छन् ।
तीन बर्ष देखि हुन नसकेको अवार्डको मिति बारम्बार सरिरहँदा कतै अवार्ड नै वितरण नहुने त हैन भन्ने प्रश्न पनि उब्जिएको छ । पप्पु भन्छन्- 'कार्तिकमा त जुनसुकै हालता पनि अवार्ड वितरण गरिने छ ।' समयमा गर्न नसकेपछि अब हतार नगरी आरामले गर्ने पप्पु बताउँछन् ।

