गोर्खाली लाहुरेको कथा बोकेको फिल्म 'निशानी' प्रदर्शनका लागि तयार भएको छ । बुधबार राजधानीमा आयोजना गरिएको फिल्मको अडियो विमोचन समारोहमा फिल्म निर्माण युनिटले फिल्म पूर्ण रूपमा रिलिजका लागि तयार भएको जानकारी गराएको हो ।

अडियो विमोचन समारोहमा बोल्दै निर्देशक बिनोद सेरेङले निशानीलाई मौलिक नेपाली फिल्म भनेर दाबि गरे । उनले भने- 'पूर्व देखि पश्चिम नेपालका नेपालीहरूको भावना हो, निशानी ।' यसअघि अंगालो यो मायाको फिल्म निर्देशन गरेर असफल बनेका बिनोदले निशानीबाट भने सफलता पाउने बिश्वास व्यक्त गरे । कारगिलको युद्धमा विरगती प्राप्त गरेका गोर्खालीको कथालाई मुख्य बिषय बनाएको लेखक समेत रहेका निर्देशक सेरेङले बताए ।
लमजुङ, इलाम र सिक्किममा छायाँकन गरिएको यो फिल्ममा ब्लकबस्टर फिल्म गोर्खा पल्टनका हिरो प्रशान्त तामाङको साथमा बिष्णु चेम्जोङ, अनु गुरूङ, प्रेम सुब्बा, सुरज रानाभाट, सिरू बिष्ट, कोपिला थापा, जयनन्द लामा लगायतले अभिनय गरेका छन् । प्रेम सुब्बा, सरोज भण्डारी र ललिता धैगडेलको लगानी रहेको यो फिल्ममा बिबी अनुरागी र मनु नेम्वाङको संगीत रहेको छ ।
.jpg)
समावेश गरिएका ६ वटा गीतमा प्रशान्त तामाङ, दिपक लिम्बु, टिका पुन, अर्जुन सुनाम, शर्मिला गुरूङ, बिष्णु चेम्जोङ, कुशल लिम्बु, मनु नेम्वाङ, देसु सुहाङ र बिबी अनुरागीको स्वर सुन्न सकिन्छ । शब्द भने बिनोद सेरेङ, सुमन श्रापित, भुपाल राई र मनु नेम्वाङको रहेको छ । फिल्मको गीतमा कलाकारलाई डान्स स्टेप सिकाउने काम गोबिन्द राई र शिव विकले गरेका छन् ।
गोर्खा पल्टन पछि किन मायामा र अंगालो यो मायाको जस्ता फिल्ममा असफल बनेका प्रशान्तको निशानीले कस्तो प्रतिक्रिया पाउँछ ? रिलिजको पर्खाईमा छौं । फिल्मको रिलिज डेट तय गरिएको छैन ।

