असोज ११ गते मौन प्रेमको प्रतिक्षा हुनेछ । फिल्मका मुख्य कलाकार अर्पण थापा र नम्रता श्रेष्ठ हुन् । फिल्ममा यी दुई बोल्न नसक्ने भुमिकामा प्रस्तुत छन् ।

मौन फिल्मका निर्देशक सुरज भुषाल हुन् । सुरजको यो पहिलो फिचर फिल्म निर्देशन हो । मौनमा नविन गौलीको लगानी छ । मौनको पटकथा फिल्मका मुख्य पात्र अर्पण थापाले तयार पारेका हुन् । अर्पण समक्ष निर्माता गौलीले मौनको वन लाइन स्टोरी सुनाएका थिए । निर्माता र निर्देशकको टुङ्गो लागेपछि अर्पणले कथा लेख्न सुरु गरे । यस अघि धन्दा फिल्मको समेत पटकथा लेखेका अर्पणले सुनाए- 'तीन महिनामा मौनको स्क्रिप्ट तयार भो ।'

अर्पणले स्क्रिप्ट तयार पारी सक्दा मौनमा उनको अलावा फिमेल क्यारेक्टर तय भैसकेको थिएन । स्क्रिप्टको क्यारेक्टर प्ले गर्न सक्ने को छ त ? निर्देशक भुषाल भन्छन्- 'अभिनय क्षमताको हिसाबले नम्रता जी पहिलो रोजाईमा पर्नुभयो । उहाँको अप्सनमा अरुलाई राखिएन ।' लभर व्वायको क्यारेक्टरमा अर्पण पहिलो पटक मौनमा देखिदै छन् । आफ्नै पटकथामा मुखौटा फिल्मको निर्देशनमा जुटको अर्पण भन्छन्- 'मेरो लागी चुनौती पूर्ण भुमिका थियो । मैले न्याय गरे जस्तो लाग्छ ।'

बधशालाका रिसाहा आर्मीले रोलका लागी केही समय बहिरा केन्द्र पनि धाए, साथमा नम्रता पनि थिइन् । निर्देशक भुषाल थप्छन्- 'अहिले फिल्म हेर्दा लाग्छ मौनको उक्त क्यारेक्टरमा अर्पण र नम्रताको अप्सनमा कोही पनि हुन सक्दैनन् ।' नम्रताले पनि स्क्रिप्ट र आफ्नो क्यारेक्टर चित्त बुझेकाले फिल्मका लागि राजी भएको बताउँछिन् । अब दश दिनमा पोष्टको काम सकिने निर्देशक भुषालले बताए । फिल्मलाई दर्शकले मन पराउने उनको विश्वास छ ।

