खेलको राजा फुटबलको बिषयमा निर्माण गरिएको फिल्म 'वर्ल्ड कप इन नेपाल'को अडियो तथा भिडियो गीत सहित प्रोमो सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक समारोहका विच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा, निर्देशक नारायण पुरी, निर्माता प्रकाश थापा र चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदीले फिल्मको अडियो सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बनेका लामाले 'वर्ल्ड कप इन नेपाल' फिल्म निर्माणले खेलकुदको बिषयमा बहस सिर्जना गर्नुका साथै नेपालीको खेल प्रतिको मोहलाई दर्शाउने बताए । यस्तै उनले नेपालका फुटबल खेलाडीहरूलाई वर्ल्ड कपमा भाग लिने हौसला फिल्म दिनेमा बिश्वास व्यक्त गरे । उनले यस किसिमको फिल्मले जनमानसमा राम्रो सन्देश दिने भएकाले फिल्म पब्लिसिटीका लागि राष्ट्रिय खेलकुद परिषद सहयोग गर्न तयार रहेको बताए ।
निर्देशक नारायण पुरीले खेल, फिल्म तथा संगीतबाट मानिस टाढा रहन नसक्ने बताउँदै खेलकुदको बिषयमा फिल्म बन्नु सबैको लागि खुसीको कुरा रहेको बताए । कुनै बेला आफूले पनि खेलकुदको बिषयमा फिल्म बनाउन खोज्दा खेलकुद परिषदले सहयोग नगरेको गुनासो पोख्दै पुरीले 'वर्ल्ड कप इन नेपाल' निर्माण युनिटलाई सफलताको शुभकामना दिए ।

रामशरण पाठकको लेखन र निर्देशनमा बनेको यो फिल्मलाई प्रकाश थापा र राम तामाङले निर्माण गरेका हुन् । फिल्ममा गिरी प्रसाद पुन, गोपाल अर्याल, संगम राई, सपन घिमिरे, उमेश थापा, सागर लामा, ऋषि थापा मगर, प्रविन तामाङ, राम फागो, पर्वत सुब्बा, सुजन तामाङ, निश्चल घले लगायतले अभिनय गरेका छन् । खेल सम्बन्धी नेपालको पहिलो फिचर फिल्म भनिएको यस फिल्ममा जुगल डंगोलको संगीत, मनिष पन्तको छायाँकन तथा राजु भण्डारीको सम्पादन रहेको छ ।
यस्तै कार्यक्रममा साउदी अरबमा दुर्घटनामा परि निधन भएका धादिङका हरि राम थापाको परिवारलाई फिल्म निर्माण युनिटको सहकार्यमा नगद रू ३ लाख ६५ हजार प्रदान गरियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव लामा, निर्देशक पुरी, निर्माता थापा र चलचित्र पत्रकार संघका महासचिव सुवेदीले उक्त रकम स्वर्गिय लामाको परिवारलाई हस्तान्तरण गरेका थिए ।

