आउँदो असोज २५ गते फुलपातीका दिन रिलिज हुने भनिएको प्रतिक्षित फिल्म 'लोफर' मंसिर २१ गतेका लागि सरेको छ । रेखा थापाले निर्माण गरेको फिल्म 'काली'सँग जुध्ने तयारी गरेको लोफर सर्नुको आफ्नै कारणहरू छन् ।
आफ्नै कार्यालय नमस्ते नेपालमा फिल्म कालीको रिलिज चाँजोपाँजो मिलाईरहेका निर्माता छबिराज ओझाले फिल्मीखबरसँग कुरा गर्दै लोफर सर्नुका कारणहरू खुलाए । लोफर सर्नुको मुख्य कारण छबिले ज्योतिषको भविष्यवाणीलाई देखाएका छन् । उनी भन्छन्- 'ज्योतिषले मेरो जन्मदिन पछि फिल्म गर्दा सफलता पाउने भविष्यवाणी गर्नुभयो, अनि तिहारमा रिलिज गर्ने योजना पनि मंसिरमा सर्यो ।' छबि मंसिर ७ गते जन्मेका हुन् ।
यस्तै छबिले आफ्नो फिल्म रिलिजका बेला कुनै पनि ठूलो व्यानरको हिन्दी फिल्म नरहेकाले पनि सारेको बताए । 'यसपाली ठूला मल्टिप्लेक्स तार्गेट गरेर फिल्म बनाएको छु । त्यसैले सोलो रिलिज होस् भनेर नै अफ टाईमलाई मैले रोजें,' छबिले भने- 'सायद त्यो बेला अन्य नेपाली फिल्म पनि रिलिज नहोला ।'
कुरा यतिमा मात्र सिमित छैन । छबिको फिल्म दशैंको फुलपातीबाट पोस्टपोण्ड हुनुको अर्को कारण आफ्नै पूर्व पत्नी रेखा थापाको फिल्म रिलिजको जिम्मा आफैले लिनु रहेको छ । शुरूमा लोफरसँग जुधाउने तयारी गरेकी रेखाले फिल्म नै छबिलाई जिम्मा दिएपछि लोफर ब्याक भएको हो । 'परिवार भित्रै लडेर किन जानी जानी कुवामा हाम फाल्नु ?,' छबि भन्छन्- 'सेफ ल्याण्डिङ हुनको लागि दुवै फिल्म उपयुक्त समयमा रिलिज हुँदैछन् ।'
एक्सन, लभ, रोमान्स, कमेडी सहितको सुधारिएको मसलेदार फर्मुला फिल्म 'लोफर'लाई डेब्यू गर्दै आदित्य विक्रम लम्सालले निर्देशन गरेका हुन् । आर्यन सिग्देल, दयाहाङ राई, कमलमणी नेपाल, सुशिलराज पाण्डे, अनुपम शर्मा, सागर लम्साल 'क्षेत्री', रजनी केसी लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा सोनाल सापकोटाले संगीत भरेका छन् । फिल्ममा मदन कास्यप घिमिरेको छायाँकन, चन्द्र पन्तको द्धन्दनिर्देशन तथा कविराज गहतराजको करियोग्राफी रहेको छ ।

