जादुगर कलाकार महादेव त्रिपाटीले 'च...चमत्कार' नामक फिल्म निर्माण गर्ने भएका छन् । उनले यो फिल्मलाई यसअघि निर्माण गरिएको फिल्म जादुगरको सिक्वेल भन्न रुचाए । 'च...चमत्कार'ले बालबालिका र जादुगर बिचको सम्बन्धको कथा भन्नेछ । फिल्मलाई महादेव स्वयमले निर्माण एवम् निर्देशन गर्नेछन् ।
'च...चमत्कार'को छायाँकन वर्षको अन्तिम महिना चैतबाट प्रारम्भ हुने जानकारी दिदै महादेव भन्छन्- 'असहाय बालबालिकाको सहयोगार्थ फिल्म निर्माण गरेको हुँ ।' जादुगर फिल्मबाट उठेको रकमले चोभारमा उनले भवन निर्माण गरेका छन् । जहाँ १७ जना एचआइभी प्रभावित बालबालिकाले आश्रय पाइरहेका छन् । २०५५ सालबाट बालबालिकाको क्षेत्रमा काम गर्दै आएका महादेवले जादु देखाएर संकलन भएको रकमले बालबालिकाको हेरचाहमा नै खर्च गर्दै आइरहेको बताए ।
फिल्ममा पन्ध्र सय बालबालिका सम्मिलित हुने छन् । फिल्म खेल्ने बालबालिकाको खोजी भैरहेको छ । उनले भने- 'यो चैतमा सुटिङ सुरु गरेर अर्को चैतमा रिलिज गर्ने योजना छ ।' गाईजात्रे कार्यक्रममा व्यस्त महादेवले 'च...चमत्कार'मा विश्वका सबैभन्दा होचा नेपाली चन्द्रबहादुर डाँगीको समेत अभिनय रहने बताए । फिल्मका अन्य कास्ट भने फाइनल हुन बाँकी छ ।

