फुलपाती अवसर (असोज २५)मा देशभरका पर्दाबाट प्रदर्शनमा आउने रेखा फिल्मसको प्रस्तुती फिल्म कालीको हल पोस्टर सार्वजनिक गरिएको छ । अभिनेत्री थापाले कालीको ६ भिन्न हल पोस्टर फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् । यो साताबाटै देशका हलमा कालीको पोस्टर राख्न सुरु भैसकेको छ ।

सार्वजनिक गरिएका हल पोस्टर्समा अभिनेत्री थापालाई हाईलाइट गरिएको छ । फिल्मका अर्का मुख्य पात्र किशोर खतिवडा छायाँमा छन् । किशोरलाई ६ मध्ये दुई वटा मात्रै पोस्टर्समा स्थान दिइएको छ । अन्य पोस्टर्समा रेखाका विभिन्न रुप प्रस्तुत छन् । पोस्टर्समा हिरोलाई हाईलाइट नगरिएको बारे रेखाको प्रतिक्रिया छ- 'काली पूर्ण रुपमा नारी प्रधान फिल्म हो । त्यसकारण पोस्टर्समा नारी पात्रलाई महत्व राखिएको हो ।'
यस अघिका किस्मत र कस्ले चोर्यो मेरो मन लगायत अन्य होम प्रोडक्सनको फिल्मको पोस्टर्समा समेत हिरो प्राथमिकतामा नपरेको तर्क गर्दै रेखा थप्छिन्- 'पोस्टर्समा कसको तस्विर राख्ने भन्दा पनि फिल्म कस्तो बनेको छ भन्ने महत्वपूर्ण कुरा हो । कालीले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिन्छे ।'

सविर श्रेष्ठ निर्देशित फिल्ममा अभिनेत्री थापालाई ईन्सपेक्टरको भुमिकामा देख्न सकिनेछ । रेखा र किशोर बिचको सम्बन्ध, ईन्सपेक्टरको व्यावसायिक करिअर र मानविय संवेदनालाई फिल्म कालीमा देख्न सकिन्छ । संगीत बसन्त सापकोटाको छ । कालीसँगै प्रदर्शनमा आउने भनिएको छविराज ओझा निर्मित फिल्म लोफर भने मंसिर २१ गतेलाई सरेको छ । अभिनेत्रीबाट नेतृ हुने दौडमा रहेकी रेखाको सोलो पोस्टर्स हेरेर हलमा दर्शकको भिड कत्तिको लाग्छ ? फुलपाती सम्म प्रतिक्षा गरौं ।

