विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समितिले अमेरिकाको लस एन्जेलसमा हुने ८६औं एकेडेमी अवार्डस् (अस्कर अवार्डस्) को विदेशी भाषी फिल्म पुरस्कारका लागि नेपाली फिल्म सुनगाभा पठाउने निर्णय गरेसँगै यो बिषय बिबादमा तानिएको छ । बिबादमा तातिनुको मुख्य कारण नै सुनगाभाका निर्देशक सुवर्ण थापा फ्रान्सेली नागरिक हुनु ।
विदेशी भाषी फिल्म पुरस्कारका लागि ओस्कारमा प्रतिनिधित्व गरेर जाने फिल्मका निर्देशक निर्माता तथा लेखक सम्बन्धित देशकै हुनु पर्ने नियम छ । तर नेपालबाट छनिएको फिल्म 'सुनगाभा'का निर्देशक अहिले फ्रान्सका नागरिक भएकाले नै यो बिषय बिबादमा तानिएको हो । विमल पौडेल अध्यक्षतामा लक्ष्मीनाथ शर्मा, प्रदिप उपाध्याय, राजु विक्रम थापा र लोकेन्द्र पराजुली (कपिल)को समितिले छनोट गरेको फिल्म 'सुनगाभा' बिबादमा तानिनु हाँस्यास्पद रहेको बुझक्कड फिल्मकर्मीको तर्क छ ।
नेपालका थिएटर र बिश्वका थुप्रै फिल्म फेस्टिभलमा नेपाली फिल्मको प्रतिनिधित्व गरेको सुनगाभालाई अहिले आएर नेपाली फिल्म नभनेर बिबादमा ल्याईंदा निर्देशक थापाले आफूलाई निकै दु:ख लागेको बताए । आईतवार राजधानीमा आयोजना गरिएको एक समारोहमा फ्रान्सबाट स्काईप मार्फत कुरा गर्दै निर्देशक थापाले भने- 'बिश्वभर नेपाली फिल्मको प्रतिनिधित्व गरेको सुनगाभालाई आज आएर बिदेशी फिल्म भनिदिंदा मेरो चित्त दुखेको छ । वास्तवमै मलाई आज नेपाली हुनुको पहिचान खोसिएको अनुभव भएको छ ।
यस्तै निर्देशक थापाले सुनगाभा निर्माणताका आफूले फ्रान्सको नागरिकता नलिएको बताउँदै यो फिल्मलाई आफूले नेपाली मनले नै बनाएको बताए । 'यो सुवर्ण व्यक्तिको भन्दा पनि आम नेपालीको फिल्म हो,' उनले भने । आफूले सन् २०१२ मा मात्र फ्रान्सको नागरिकता लिएको बताउँदै सुवर्णले भने- 'यदि कसैले मलाई नेपाली हैन भनेर पन्छाउन खोज्छ भने म फ्रान्सको नागरिकता त्याग्न तयार छु ।'
.jpg)
यस्तै कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले सुनगाभालाई ओस्कारमा पठाईएकोमा खुसी व्यक्त गर्दै आफ्नो संघले यस बिषयमा कुनै बिबाद नगर्ने बताए । चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का तथा प्राबिधिक संघका अध्यक्ष मनोज केसीले पनि सुनगाभा ओस्कारमा प्रतिनिधित्व गर्ने उपयुक्त फिल्म नै रहेको बताउँदै फिल्मलाई सफलताको कामना गरे ।
यता विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समितिका सदस्य मध्येका एक लक्ष्मीनाथ शर्माले आफ्नो फिल्म नपर्दा बिबाद गर्नु स्वाभाविक भएकाले यसलाई ठूलो एजेन्डाको रूपमा नलिन आग्रह गर्दै भने- 'सर्वोच्च नै जान पर्ने कारण के छ ?' कार्यक्रममा फिल्ममा मुख्य दुई पात्र निशा अधिकारी र दिया मास्केको साथमा अभिनेत्री लक्ष्मी गिरीको पनि उपस्थिती थियो ।

