फिल्म कलिउडको एउटा गीतमा डान्स गरेपछि पूर्व मिस नेपाल मलिना जोशीलाई पनि फिल्मी नशाले छोयो । कलिउडमा आकर्षक नृत्य गरेपछि मलिनालाई धेरैले हिरोईन बनाउने सपना बुने तर सफल बने अष्ट्रेलियाका एनआरएन मनोज अधिकारी ।
मनोजले पहिलो फिल्म 'ऋतु'मा नै मलिना र राजबल्लभ कोईरालालाई अनस्क्रिन जोडी बनाए । हाल राजधानीमा स्वराङ्कन (डबिङ) भईरहेको यहि फिल्मको फस्ट लुक प्रोमो रिलिज गरिएको छ । उक्त प्रोमोमा राज र मलिनाको प्रेमलाई महसुश गर्न सकिन्छ ।
युगल जोडीको प्रेममा आउने उतारचढावको साथमा ऋतु बदलिए जस्तो गरेर बदलिरहने जीवनका तीतामीठा पलहरुलाई पर्दामा उतार्ने प्रयास गरिएको रोमाण्टिक ड्रामा 'ऋतु'मा राज र मलिनाको साथमा रिमा बिश्वकर्मा, बिष्णु न्यौपाने, कमल सिलवाल, बुल्सन लगायतको अभिनय हेर्न सकिन्छ ।
अनलाइनमार्फत आयोजना गरिएको एक स्क्रिप्ट लेखन प्रतियोगिताबाट छनौट गरिएको संदिप बडाल लिखित स्क्रिप्टमा निर्माण गरिएको यो फिल्मलाई सुसन प्रजापतीले खिचेका हुन् । सुजिल कर्माचार्य र सुदिप गिरीको संगीत रहेको यो फिल्मलाई सन् २०१३को डिसेम्बर महिना तिर रिलिज गर्ने योजना बनाईएको निर्माण युनिटले जनाएको छ ।

