सानो पर्दामा हिट भएको 'जनैको साँचो'लाई ठुलो पर्दामा पनि हेर्न पाइने भएको छ । २०४७ साल ताका टेलिभिजनमा ख्याती कमाएको 'जनैको साँचो'लाई टेलिश्रृङ्खलाकै निर्देशक अनिल पाण्डेले ठुलो पर्दामा निर्देशन गर्न लागेका हुन् । लगानी भने जगत राज थलाको रहनेछ ।
जनैको साँचो फिचर फिल्ममा हरिहर शर्मा, टिका पहारी, सरिता गिरी, आशान्त शर्मा, भूपेन चन्द, किशोर खतिवडा लगायतको अभिनय रहनेछ । फिल्मका अन्य सदस्य फाइनल बाँकी छन् । पटकथाकार समेत रहेका निर्देशक पाण्डेले जनैको साँचोलाई सिने आर्ट शैलीको फिल्म भन्न रुचाए । उनले भने- 'दर्शकको डिमान्डका कारण फिचर फिल्म निर्माण गर्न लागेका हौं । टेलिफिल्मको कथालाई केही फिल्मीकरण गरिनेछ ।'
पाण्डेले तिहार पछि फ्लोरमा जाने गरी फिल्मको प्रि-प्रोडक्सन कार्य भैरहेको जानकारी दिए । कमर्शियल वर्ल्डमा सन्तानले बिर्सदै गएको संवेदनालाई जनैको साँचोले प्रस्तुत गर्नेछ । विष्णु विभुको कथा रहेको फिल्मको पुरै छायाँकन राजधानी शहर भित्र गरिने जानकारी छ । सानो पर्दामा हिट भएको जनैको साँचो ठुलो पर्दामा के होला ?

