समिक्षकले बकवास भनी टिप्पणी गरेको शाहरुख खानको प्रदर्शनरत फिल्म चेन्नइ एक्सप्रेसले दुई सय करोडको व्यापार गर्ने लगभग निश्चित छ । तर, समिक्षकले `वाह !` भनेका फिल्मले भने आफ्नो लगानी उठाउन नै धौधौ पर्ने गरेको व्यापारिक रिपोर्ट छ ।
राम्रा भनिएका फिल्मले उत्साहको व्यापार गर्न नसक्नुले नेपाली मात्रै हैन बलिउड फिल्म मेकरलाई पनि सोच्न बाध्य बनाएको छ । त्यसैले फिल्म मेकर बिच फिल्म सफलताको मापदण्ड के ? भन्ने बिषयमा बहसको थालनी हुन थालेको छ । फिल्म दर्शकका लागी निर्माण गर्ने कि समिक्षकका लागी ? समिक्षक र वौद्धिक वर्गले राम्रो भनी प्रतिक्रिया दिएको फिल्म महसुशले पनि निराशको व्यापारिक नियती भोग्नु पर्यो ।
गत शुक्रबार अल नेपाल प्रदर्शनमा आएको महसुश फिल्मलाई हेर्ने दर्शकले पनि रुचाएको पाइयो । तर, हलमा जति दर्शक आउनु पर्ने थियो त्यति भने आएनन् । फिल्मलाई जति नै राम्रो भनिदिए पनि निर्माता त्यतिबेला खुसी हुन्छन् जतिबेला फिल्मले बबाल व्यापार गर्छ । ८० लाख लगानी दाबी गरिएको फिल्मले एक हप्तामा ५६ लाखको ग्रस कलेक्सन गर्न सफल भएको दाबि गरिएको छ । निर्माता कल्याण घिमिरे भन्छन्- 'सी ग्रेडका फिल्मले गर्दा राम्रा फिल्म हेर्न चाहने दर्शक पनि भड्कीएको पाइयो ।'
नवल नेपाल निर्देशित फिल्ममा केकी अधिकारी, आर्यन सिग्देल र वेनिशा हमाल मुख्य भुमिकामा प्रस्तुत भएका छन् । महसुशबाट केकीले राम्रो केक्रिड पाइरहेकी छिन् । उनले निभाएको गाउँले गौरी पात्रलाई सबैले रुचाएको पाइएको छ । फिल्म दोस्रो हप्ता पनि ३० भन्दा माथि हलमा प्रदर्शनरत छ । रुचाइएका फिल्मको कमजोर व्यापारमा महसुश मात्रै एक्लो होइन ।
महसुश अघि प्रदर्शनमा आएका मञ्जरी, अन्तराल, साँघुरो, उमा, अध्याय जस्ता फिल्मलाई पनि समिक्षक र दर्शकले ग्रीन सिग्नल दिएका थिए । तर, यी फिल्मको व्यापार पनि उत्साहको हुन सकेन । यी सबै फिल्मले नेपालबाट आफ्नो लगानी रिकभर गर्न सकेनन् । राम्रो फिल्मले उत्साहको व्यापार गर्न नसक्नुमा प्रचारमा देखिएको सिथिलता, कमजोर वितरण व्यवस्था र स्टारडमको अभाव भन्ने एक थरीको निष्कर्श छ ।

