Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

ओस्कारलाई छानियो `सुनगाभा`

फिल्मीखबर, काठमाण्डौ, 2013/08/23

बधाई छ, सुनगाभा निर्माण युनिट र कलाकारलाई जस्ले ओस्कारमा नेपाली फिल्मको प्रतिनिधित्व गर्ने अवसर पाएको छ । विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समितिले ओस्कार फिल्म फेस्टिभलको नेपाल प्रतिनिधित्वको लागी समलिङ्गी युवतीको प्रेमकथामा आधारित फिल्म सुनगाभालाई चयन गरेको हो ।

 

सुनगाभा सहित साँघुरो, शिरिषको फूल र बधशाला ओस्कार प्रतिस्पर्धामा सामेल थिए । विमल पौडेल अध्यक्ष रहेको छनोट समितिले ओस्कारमा सुनगाभालाई पठाउने निर्णय गरेको हो । छनोट समितिमा लक्ष्मीनाथ शर्मा, प्रदिप उपाध्याय, राजु विक्रम थापा र लोकेन्द्र पराजुली (कपिल) छन् । नेपालबाट प्रतिनिधित्व गर्दै जाने फिल्म ओस्कारको मुख्य छनौट समितिमा पुग्नेछ । त्यहाँबाट पनि छनौट भएमा मात्र सन् २०१४ मार्च २ तारिखका दिन अमेरिकाको लस एन्जेलसमा हुने ८६औं एकेडेमी अवार्डस् (अस्कर अवार्डस्) को विदेशी भाषी फिल्म पुरस्कारका लागि सुनगाभाले प्रतिष्पर्धा गर्नेछ ।

 

सुनगाभा भन्दा अगाडी नेपालीको कथा माथि निर्माण गरिएको फिल्म क्याराभानले सन् १९९९मा आयोजना भएको ७२ औं ओस्कारका लागि पहिलो सहभागिता जनाएको थियो । फ्रान्सेली निर्देशन एरिक भ्यालीले निर्देशन गरेको क्याराभानलाई नेपाली नाम 'हिमालय' दिईएको थियो जसमा नेपाली कलाकार थिन्ले लोन्डुप, छिरिङ दोर्जे लगायतले अभिनय गरेका थिए । तर, क्याराभानलाई विदेशी प्रोडक्सन कम्पनीले निर्माण गरेको थियो ।

 

क्याराभान छनोट भए लगत्तै सन् २००० मा ७३ औं ओस्कार अवार्डका लागि छिरिङ रितार शेर्पाले निर्देशन गरेको फिल्म मुकुण्डोले नेपाली भाषी फिल्मको प्रतिनिधित्व गरेको थियो । तर यो फिल्म भने क्याराभान जसरी नोमिनेशनमा पर्न सकेन । नोमिनेशनमा नपरे पनि सन् २००३ मा ज्ञानेन्द्र देउजा निर्देशित फिल्म मुनामदनले ७६ औं ओस्कार अवार्ड र सन् २००६मा आयोजना भएको ७९ औं ओस्कार अवार्डमा सुभास गजुरेलले निर्देशन गरेको बसाईंले ओस्कार अवार्ड प्रतिश्पर्धाका लागि नेपालको प्रतिनिधित्व गरेका थिए । यि तीन वटै फिल्म छनोटको पहिलो चरणबाटै आउट भएका थिए ।

 

अहिले पुन: अर्को नेपाली फिल्म 'सुनगाभा'ले ओस्कारको बाटो पाएको छ । सुवर्ण थापा निर्देशित फिल्ममा अभिनेत्री निशा अधिकारी र दिया मास्के समलिङ्गी युवतीको भुमिकामा प्रस्तुत छन् । नेपालमा प्रदर्शन भैसकेको फिल्ममा अभिनेता सौगाल मल्ल सहित लक्ष्मी गिरी र बसुन्धरा भूषालको पनि अभिनय । विभिन्न फिल्म फेस्टिभलमा अवार्ड हात पार्न सफल सुनगाभाले ओस्कारमा भने कस्तो नजिता निकाल्छ ? प्रतिक्षाको विषय हुनेछ ।