Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गाईजात्रा प्रसंग : को-को छन् जात्रा देखाउन माहिर ?

फिल्मीखबर, काठमाण्डौ, 2013/08/22

हिन्दु क्यालेन्डरले वर्षको एक दिन गाईजात्रा मनाउन छुट्टी दिएपनि नेपाली राजनीति पछि फिल्म क्षेत्रमा पनि राम्रै गाईजात्रे प्रवृत्ति देख्न पाईन्छ । फिल्म क्षेत्रको सबैभन्दा ठुलो गाईजात्रा फिल्मकर्मीको ४२ दिने आन्दोलन रह्यो ।

 

सिंहदरबार गेट घेर्ने देखि रिले अनसनमा समेत उत्रिएको फिल्मकर्मीको आन्दोलन बिना उपलब्धी टुङ्गियो । विज्ञ व्यक्ति वोर्डमा नियुक्ती हुनुपर्ने भन्दै गरिएको आन्दोलनमा बिरोध गरिएकै व्यक्ति धर्मेन्द्र मोरवैता 'पप्पु'लाई अध्यक्ष पदमा माला लगाउन फिल्मकर्मी तयार भए । बिरोध गरेकै कति फिल्मकर्मी पप्पुसँग नाच्न तयार भए । दिनभर आन्दोलनमा सक्रिय हुने साँझ परेपछि पप्पुसँग सोमरसमा रमाउने फिल्मकर्मीको गाईजात्रा हेर्न लायककै थियो ।

 

फिल्म क्षेत्रमा अर्को गाईजात्रा साउन १ गते देखि लागु गरिएको बक्स अफिस र हल तथा फिल्म वर्गीकरणको नीति रह्यो । सर्भर कहाँ राख्ने भन्ने विषयमा विवाद रहंदै वोर्डले बक्स अफिस नीति लागु गर्यो । यही नीतिको विरुद्ध वर्षमा एउटा फिल्म मुस्किलले बनाउने केही असन्तुष्ट पक्ष सर्वोच्चमा पुगेका छन् । सर्वोच्चले पनि फिल्मकर्मीको गाईजात्रालाई बुझेरै होला रिट उपरको पेशी दुई पटक सारिसकेको छ ।

 

कलाकार पनि गाईजात्रा देखाउन माहिर छन् । अभिनेता राजेश हमालबाटै जात्राको सुरुवात भयो । अभिनेता हमालले ढल्कंदो उमेरमा आएर आफु भन्दा झन्डै आधा उमेरकी युवतीलाई प्रेमिका भन्दै आएका छन् तर उनको अनुहार अहिलेसम्म सार्वजनिक गर्न चाहेका छैनन् । फिल्म निर्देशन गर्ने भनिएका अभिनेता हमालको बिहे कहिले हुन्छ कुनै टुङ्गो छैन । यस्तै यौवना अवस्थामा सभ्य फिल्ममा अभिनय गर्दै आएका हमालले बुढेसकालमा आएर सेक्स ओरेन्टेड फिल्ममा अभिनय गरेर अर्को गाईजात्रा देखाउन थालेका छन् ।
 

 

त्यस्तै अभिनेत्री रेखा थापा पनि गाईजात्रा देखाउन पछि छैनन् । विकास वोर्ड अध्यक्षको असफल दौडधुप, अमेरिका पुगेर फर्किए पछि उनले दिएको अभिव्यक्तिले फिल्म क्षेत्रमा ठुलै भुइँचालो ल्याइदियो । रेखाको सबैभन्दा ठुलो गाईजात्रा त्यती बेला भयो जतिबेला उनी एमाओवादी प्रवेश गरिन् । त्यस्तै कहिले रुखसँग बिहे गरेर त कहिले ड्याडी (छवि ओझा)सँग मिल्ने र छुट्ने प्रवृत्तीले रेखा जात्राको पात्र बनिरहिन् ।

 

शुरूमा प्रेमिका सार्वजनिक हुँदा मिडियासँग बाझेका आर्यन सिग्देल अहिले आफै प्रेमिकाको तस्विर आफ्ना फेसबुकका भित्ताहरूमा पोस्ट गरेर जात्रा देखाउन थालेका छन् । त्यस्तै हाई पारिश्रमिक डिमान्डले पनि आर्यनको फिल्मी बजारमा गाईजात्रा भैरहन्छ । अर्का अभिनेता भुवन केसीले पनि बेलाबेला गाईजात्रा देखाएकै हुन्छन् । कहिले बिच सडकमा त कहिले रेष्टुरेन्टमा उनको जात्रा हेर्न लायककै देखिन्छ ।

 

अभिनेत्री सुमिना घिमिरे पनि यो बर्ष जात्रा देखाउने लिस्टमा परिन् । पत्रकारलाई ज्यान मार्ने धम्की दिएपश्चात उनी गाईजात्रे पात्रा बनिन् । अर्को गाईजात्रा त्यो बेला भयो जब एटिएम जस्तो फिल्म बन्यो । भल्गारिटीको सिमाना नाघेको फिल्म एटिएमको प्रोमो सार्वजनिक भए लगत्तै फिल्म क्षेत्र नै गाईजात्रे भयो । उक्त फिल्मकी मुख्य पात्र जिया केसी बर्ष भरि नै यहि फिल्मका कारण गाईजात्रे पात्र बनिरहिन् ।

 

बर्ष ०६९/७० को सबैभन्दा रमाईलो र रोचक गाईजात्रा त धरानमा आयोजना भएको महोत्सव बन्यो । अव्यवस्थित कार्यक्रम संयोजनले आयोजक विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैता सबैभन्दा बढि आलोचित पात्र बने । यि बाहेक पनि यस्ता थुप्रै गाईजात्रे पारा नेपाली फिल्म क्षेत्रमा देख्न पाईन्छ ।

 

फोटो स्केच : सौर्य राष्ट्रिय दैनिक