Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

राजनीतिको पत्रकार भेटघाट : सेन्सर नगर्न विकास वोर्डलाई पत्राचार

फिल्मीखबर, काठमाण्डौ, 2013/08/21

अनामनगरस्थित युनियन हाउसमा फिल्म राजनीति युनिटले एक प्रेस समारोह आयोजना गरेको छ । फिल्मका सदस्यहरु सहित एमाले युवा नेता योगेश भट्टराई सहभागी रहेको उक्त समारोहमा फिल्मको अडियो सार्वजनिक गरियो । साथमा राजनीतिको प्रोमो र भिडियो सङ पनि प्रस्तुत गरियो ।

 

 

राजनीतिका प्रमुख पात्र अभिनेता राजेश हमालले फिल्म बारे भने- 'फिल्म समय सान्दर्भिक छ । देश नै राजनीतिक अस्थिरतामा रहेको बेला राजनीतिक विषयमा फिल्म बन्नु कुनै नौलो विषय होइन ।' आफ्नो मन्तव्य राखे लगत्तै कार्यक्रमबाट बाहिरिएका अभिनेता हमालले थपे- 'फिल्म काल्पनीक विषयमा आधारित छ । यद्पी दर्शकले फिल्मको कथासँग आफुलाई दाज्नु हुन्छ भन्ने मलाई विश्वास छ ।'

 

 

त्यस्तै राजनीति मार्फत अभिनेत्री बनेकी कोमल ओलीले पनि नेपालको वर्तमान राजनीतिक घटनाक्रमसँग फिल्म केही हदसम्म मिल्न जाने बताइन् । ओलीले भनिन्- 'मेरो पहिलो अभिनयलाई दर्शकले मन पराउनु हुन्छ भन्ने आशा लिएको छु ।' त्यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरीले फिल्म राजनीतिले वर्तमान फिल्म संकटकाललाई हल गर्ने विश्वास व्यक्त गरे ।

 

 

एमाले युवा नेता भट्टराईले पनि फिल्मको सफलताको लागी शुभकामना दिए । प्रेस समारोहमा निर्देशक बसन्त निरौलाले भने राजनीतिलाई दर्शकले मन पराउने आशा व्यक्त गरे । उनले भने- 'राम्रो फिल्म बनाएका छौ । सम्पूर्ण दर्शकले फिल्म हेरेर प्रतिक्रिया दिनु होला ।' नेपाल रिलिज पूर्व फिल्मको स्पेनमा प्रिमियर गरिने समेत निर्देशक निरौलाले जानकारी दिए । कार्यक्रममा काँग्रेसका युवा नेता गगन थापा सहभागी हुने भनिए पनि उनी उपस्थित भएनन् ।

 

 

फिल्म यही भदौ २८ गते अल नेपाल प्रदर्शनमा आउँदैछ । फिल्ममा राजेश र कोमलसँगै पवित्रा आचार्य, दिपक सुवेदी, दिपक भट्टराई लगायतको अभिनय छ । अर्जुन पोखरेल र लोचन सानले संगीत दिएको फिल्ममा शिव ढकालको क्यामेरा छ । फिल्ममा अष्ट महर्जनको फाईट र प्रदिप श्रेष्ठको नृत्य निर्देशनलाई देख्न सकिन्छ । सम्पादन भने चन्दन दत्तले गरेका छन् ।

 

 

राजनीतिलाई सेन्सर नगर्न वोर्डलाई पत्राचार

 

पर्दा पछाडिका प्राविधिकले पारिश्रमिक रकम नपाएको निवेदन परेपछि नेपाल चलचित्र प्राविधिक संघले फिल्म राजनीतिलाई सेन्सरको सिफारिस नदिन भनी विकास वोर्डलाई पत्राचार गरेको छ । प्राविधिक संघका महासचिव अनन्त तिमल्सीना भन्छन्- 'संघमा पाँच जना प्राविधिकले पारिश्रमिक रकम नपाएको भनी निवेदन दिनु भएको छ । त्यही निवेदनको आधारमा सेन्सरको सिफारिस नदिन वोर्डलाई पत्राचार गरिएको हो ।' प्राविधिक संघले एक साता अगावै वोर्डमा पत्राचार गरिसकेको महासचिव तिमल्सीना बताउँछन् । भन्छन्- 'उहाँहरु आपसमा मिलेर नआए सम्म वोर्डले सेन्सरको लागी सिफारिस दिने छैन ।'

 

तस्विर : महेश्वर मान सिंह