अभिनेत्रीबाट नेतृ हुने दौडमा रहेकी रेखा थापाको परिचयमा समाजसेवी पनि थपिएको छ । अभिनेत्री थापाले विगत दुई वर्ष देखि सञ्चालनमा ल्याएको सोच परिवर्तन नेपाल (TFC) नामक गैर सरकारी संस्था बारे जन्मदिनमा मुख खोलेकी छिन् ।
रेखा अध्यक्ष रहेको यस संस्थाले शशस्त्र द्धन्द्धबाट प्रभावित पाँच बालबालिकालाई गोङ्गबु गाविसमा खान, बस्न सहित शिक्षाको व्यवस्था गर्दै आइरहेको छ । संस्था स्थापना गरेर बालबालिकालाई उक्त सेवा उपलब्ध गराइएको बारे अभिनेत्री थापाले एक प्रेस समारोह गरी जानकारी गराएकी हुन् । जन्मदिन लक्षित गरिएको कार्यक्रममा रेखाले भनिन्- '१२ वर्ष देखि फिल्म खेलेर दर्शकलाई मनोरञ्जन दिएँ । अब भने मनोरञ्जन सँगै समाज प्रति पनि सेवाको हात बढाऊँ भनेर संस्था सञ्चालनमा ल्याएको हुँ ।'
सञ्चारकर्मीलाई लक्षित गर्दै काली रेखाले थपिन्- 'मलाई जसरी फिल्म क्षेत्रमा प्रशंशा र आलोचना गरेर मलाई अगाडी बढ्न सहयोग गर्नुभयो, समाजसेवामा पनि यसरी नै सहयोग गर्नु हुन्छ भन्ने मैले विश्वास लिएको छु ।' उनले यस अघि सञ्चारकर्मीसँग भए गरेका त्रुटीलाई बचपना सम्झेर भुल्न आग्रह गरिन् ।

महाराजगञ्ज स्थित इन्द्रेणी फ्रेस फुड ल्यान्ड क्याफेमा गरिएको कार्यक्रममा पाँच मध्ये तीन बालबालिका उपस्थित थिए । कक्षा चारमा पढ्ने दाङका १० वर्षिय विराट चौधरी, कक्षा दुईमा पढ्ने रोल्पाका शालिग्राम रोका र कक्षा दुईमा पढ्ने रोल्पाकै प्रमोद पुनलाई सोच परिवर्तनले शिक्षा सेवा उपलब्ध गराउँदै आएको छ । साथमा कक्षा ११ मा पढ्ने मनोज बुढामगर र मनोज पुनलाई पनि उक्त संस्थाले सेवा उपलब्ध गराई रहेको छ । यी बालबालिकालाई शैक्षिक सहयोग भने गोङ्गबुको कामना माध्यमिक विद्यालयले गर्दै आइरहेको छ ।

विद्यालयका संयोजक हरी गोविन्द महर्जनले जिवन्त सम्म बालबालिकालाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत सूर्य निर्रौलाले आगामी १० महिना भित्र २५ जना सम्म बालबालिकालाई सेवा उपलब्ध गराउने संस्थाको लक्ष्य रहेको बताए । उनले भने- 'संस्थाको आफ्नै भवन निर्माण गर्ने उद्धेश्य छ । यसको लागी आवश्यक डोनेशन खोज्न हामी प्रयत्नरत छौ ।' कामना मावि नजिककै कोठा भाडामा लिएर राखिएका बालकको मासिक खर्च ३५ सय सम्म लाग्ने गरेको अधिकृत निर्रौलाले बताए ।
तस्विर : महेश्वर मान सिंह

