अभिनेत्री रेखा थापाले आज (भाद्र ५ गते) आफ्नो जन्मदिन मनाउँदै छिन् । छविराज ओझाको फिल्म हिरो देखि प्रदर्शनको क्रममा रहेको फिल्म काली सम्म आउँदा रेखाको चर्चाले कमी पाएको छैन । डेढ सय बढि फिल्ममा अभिनय गरी सकेकी रेखा एक दशक अगाडी देखि नम्बर वान अभिनेत्रीको यात्रामा स्थिर छिन् ।
रेखा अभिनित हिरो, मितिनी, धड्कन, हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, हिम्मत, किस्मत, हिफाजत, कस्ले चोर्यो मेरो मन, अन्दाज, रावण, कस्ले चोर्यो मेरो मन, मालतीको भट्टी जस्ता फिल्मलाई दर्शकले अत्याधिक रुचाएको पाइन्छ । जुन फिल्मले व्यवसायिक सफलता हासिल गरेका छन् । पर्दामा अभिनेत्री थापाको प्रतिस्पर्धा हिरोइनसँग नभएर हिरोसँग भयो । एक समयका स्टार निखिल उप्रेती र विराज भट्टसँग रेखाको राम्रै वाक युद्ध चल्यो । यो युद्धमा को पराजित भयो ? ईतिहास बोल्नेछ ।
पर्दामा सफल रहेकी अभिनेत्री थापाको वैवाहिक जीवन भने असफल रह्यो । हिरो फिल्म खेले लगत्तै निर्माता छविराज ओझासँग रेखाको बिहे भएको थियो । वैचारिक मतभेदका
कारण करिब १२ वर्ष पछि रेखा छवि एक आपसमा छुट्टिए । यद्पी व्यवसायिक सम्बन्धलाई भने यी दुईले कायम राख्ने बताएका छन् ।
करिअरको चरम बिन्दुमा आएर अभिनेत्री थापाले एमाओवादीमा प्रवेश गरिन् । पार्टी प्रवेशलाई लिएर विभिन्न खाले टिका टिप्पणी भएपनि रेखा स्वमय् भने पार्टी प्रवेशको आवश्यकता रहेको भनाई राख्छिन् । भन्छिन्- 'फोहोर भनिएको राजनीतिलाई पखाल्न समाजका वौद्धिक र प्रसिद्ध वर्गले राजनीति गर्न जरुरी छ ।' आगामी संविधान सभाको निर्वाचनमा गृह जिल्ला मोरङबाट रेखा उठ्ने पनि चर्चा छ ।
'अबको मेरो करिअर सक्रिय राजनीतिमा हुनेछ,' आगामी करिअर बारे रेखा भन्छिन्- 'पार्टीले दिने जिम्मेवारी र आवश्यकताले मेरो करिअर अगाडी बढ्नेछ । विश्वलाई मेरो परिचय दिने फिल्म क्षेत्रसँगको मेरो साइनो रहिरहनेछ ।' अब वर्षमा दुई वटा मात्रै फिल्म खेल्ने बताउने रेखा भन्छिन्- 'चाहे होम प्रोडक्सन होस् या अन्य, उत्कृष्ट नारी प्रधान फिल्म मेरो प्राथमिकतामा हुनेछ । तर, रेखा फिल्मस्ले गर्ने फिल्म निर्माणको कार्यले भने निरञ्तरता पाउनेछ ।'
'रेखा थापा मिहेनत गर्ने मान्छे हो,' अभिनेत्री थापा बारे निर्देशक आकाश अधिकारी भन्छन्- 'ऊ जुन स्थानमा छ, त्यो स्थान उसको आफ्नै कडा परिश्रमले भएको हो । समय अनुसार आफुलाई कसरी परिमार्जित गर्दै लैजानु पर्छ ? उसमा राम्रो ज्ञान छ ।' रेखाले निर्देशक अधिकारीको फिल्म 'को आफ्नो को बिरानो' र 'शासन'मा काम गरेकी छिन् । रेखा बारे पूर्व पति छविको भनाई छ- 'हाम्रो वैवाहिक सम्बन्ध छुटे पनि व्यवसायिक साथ छुट्ने छैन । राजनीति या फिल्म रेखालाई मेरो हरेक ठाउँमा मेरो सहयोग रहन्छ ।'
नयाँ जीवनको शुरूवातको बिषयमा भने रेखाको प्रतिक्रिया मौन जस्तै छ । 'भोली के हुन्छ आज भन्न सकिन्छ,' रेखा भन्छिन्- 'कसैसँग जोडिएर जीवन अगाडी बढ्न पनि सक्छ, नबढ्न पनि सक्छ ।' जीवन जसरी शुरू गरेपनि रेखालाई फिल्मीखबरको तर्फबाट आगामी फिल्म र राजनीति करियरको लागि सफलताको शुभकामनासँगै जन्मदिनको पनि शुभकामना !

