यसअघि थुप्रै फिल्ममा नेपाली चाडपर्वको कथालाई उठान नगरिएको हैन । तर, भोली बुधबारबाट फ्लोरमा जाने फिल्म 'लम्फू'ले भने नेपालीहरूको थुप्रै महान चाडको कथालाई बोकेको छ ।
फिल्मको बारेमा जानकारी दिंदै लम्फूका निर्माता शक्तिबल्लभ घोराशैनीले फिल्मीखबरसँगको कुराकानीमा भने- 'गाउँबाट शहर पसेको एक पात्रले शहरिया पर्वको तामझामलाई नियाल्ने छ ।' शहरमा मनाईने जनै पूर्णिमा, गाईजात्रा, तीज, दशैं, तिहार र छठ पर्वको वातावरण र यि पर्वहरूमा हुने घटनाहरूलाई पर्दामा देखाईने निर्माता घोराशैनी बताउँछन् । 'चाडपर्वमा हुने राम्रा नराम्रा घटनाहरूलाई फिल्म मार्फत देखाउने हाम्रो प्रयास हुनेछ,' निर्माताले भने ।
यिनै पर्वहरूसँग जोडिएको मौसमलाई ध्यानमा राखेर निर्माण युनिटले सुटिङ पनि ब्रेक गरेर गर्ने भएको छ । 'भोली र पर्सी सुटिङ गरेपछि एकैचोटी हामी तीजमा सुटिङ गर्नेछौं,' निर्माता घोराशैनीले भने- 'कथाले जुन वातावरण माग्छ त्यहि अनुसार सुटिङ गर्नुपर्ने भएकाले पनि मौसमलाई समेत स्क्रिप्टमा ध्यान दिईएको छ ।' तीजमा सुटिङ गरेपछि दशैं र तिहार अनि छठ पर्वमा फिल्मको सुटिङ गर्ने उनी बताउँछन् ।
मेरो एउटा साथी छ, के यो माया हो, मेरो लभ स्टोरी, धन्दा सहित केहि दिन अगाडी मात्र सुटिङ गरिएको मधुमासका निर्देशक सुदर्शन थापालाई लम्फूको मुख्य पात्रमा अनुबन्धित गरिएको छ । सुदर्शन बाहेक अन्य कलाकार भने फाईनल भईनसकेको निर्माता घोराशैनीको भनाई छ । यसअघि बोक्सी र किन लाग्छ माया फिल्म निर्माण गरेका घोराशैनीको फिल्म 'लम्फू'लाई गोपालचन्द्र लामिछानेले निर्देशन गर्नेछन् । दिपक बज्राचार्यको छायाँकन रहने लम्फूको कथा भूपतीले लेखेका हुन् भने संगीत अर्जुन पोखरेलको रहने छ ।

