शान्ति नगर स्थित निःसहाय सेवा सदन जेष्ठ नागरिक आवाश गृहमा रहेका ४२ जना वृद्धवृद्धालाई फिल्म ढुवानी युनिटले भोजन गराएको छ । निर्मात्री कविता श्रेष्ठ, निर्देशक पिताम्वर पाण्डे, कलाकार किशोर खतिवडा, प्रविण खतिवडा लगायतको ढुवानी युनिट त्यहाँ पुगेको थियो ।


असहाय वृद्धवृद्धालाई खाना वुवाइएको बारे निर्मात्री श्रेष्ठले भनिन्- 'हामी पहिला पनि यहाँ आउने गर्दथ्यौं । फिल्म रिलिज हुँदैछ । सफल होस् भनेर आमा बुवाको आर्शिवाद लिन आएका हौं । यही मौकामा खाना पनि खुवाइएको हो ।' वृद्धवृद्धालाई ढुवानी युनिटले आफैं खान बाँडेको थियो । हर्षित मुद्रामा रहेका वृद्धवृद्धाले पनि ढुवानी सफलताको लागी शुभकामना दिए ।


त्यस्तै ढुवानीका प्रमुख पात्र किशोर खतिवडाले आमा बुवालाई भेट्न पाउँदा खुसी लागेका बताए । उनले भने- 'फिल्ममा मेहनत गरेको छु । आमा बुवाको आर्शिवादले फिल्म राम्रो हुन्छ भन्ने विश्वास लिएको छु ।' ब्याच नम्बर १६ पछि ढुवानी निर्देशन गरेका पिताम्वर पाण्डे पनि फिल्म प्रति सकारात्मक देखिए । उनले भने- 'हामी सबैले मेहनत गरेका छौं । हाम्रो मेहनतलाई दर्शकले मन पराउनु हुन्छ भन्ने विश्वास छ ।' फिल्मका अर्का कलाकार प्रविण खतिवडा पनि फिल्म प्रति आशावादी नै देखिए ।


पुरुषोत्तम प्रधान सिनेम्याटोग्राफर रहेको ढुवानीमा धिरेन्द्र राज थापा, अनु गायक, सगुन शाही, हरुण अली, काका अली, उदय अली, दिपक अधिकारी लगायतको अभिनय छ । ढुवानीलाई चेलिवेटी बेचविखन बिरुद्धको संस्था माइती नेपालले प्रदर्शन पछिको अल नेपाल च्यारिटी राईट लिएको छ । हरि लम्सालको संगीत रहेको फिल्म भदौ महिनाको २८ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।



