फिल्मी फिल्मको बजार खस्किरहेको बेला डिभिडी व्यवसायीले पनि आफ्नो मार्केट खस्किरहेको बताउँदै आएका छन् । बिगतमा १० लाख रूपैंया भन्दा बढिका बिक्री हुने एउटा फिल्म अहिले डिभिडी व्यसायीले ३ लाख रूपैंया दिन हिच्किचाउँछन् ।
डिभीडी व्यवसाय गर्दै आएको कम्पनी हाईटेक इन्टरटेन्मेन्टका सञ्चालक राजेन्द्र मानन्धर भन्छन्- 'हलमा नचलेको फिल्म डिभिडीमा चल्न झन् गार्हो हुन्छ । त्यसैमाथी पाईरेसीले त अहिले डिभिडीको मूल्य घट्दै गएको छ ।' पहिला राम्रो फिल्मलाई १२ देखि १५ लाख सम्म तिर्न तयार हुने राजेन्द्र अहिले फिल्म जति नै राम्रो भए पनि ५ लाख दिन गार्हो पर्ने बताउँछन् ।
डिभिडी तथा भिसिडीको व्यवसाय खस्किदै गएपछि राजेन्द्रले अहिले भिसिडीको मूल्यमा डिभिडी उपलब्ध गराउन थालेका छन् । आज सोमबारबाट बजारमा निस्केको फिल्म इशाराको डिभिडीलाई दर्शकले रू. १७५ मा नै हेर्न पाउने छन् । 'उच्च क्वालिटीको फिल्म हेर्न दर्शकलाई आकर्षित गर्नका लागि पनि डिभिडीको मूल्य घटाईएको हो,' राजेन्द्रले भने- 'कमसल क्वालिटीको भिसिडी चाहि अब निकालिने छैन ।' यसअघि एउटा नेपाली फिल्मको डिभिडी मूल्य रू. २७५ राखिएको थियो ।
इशारा पछि धन्दा र के म तिम्रो साथी बन्न सक्छु फिल्मको डिभिडी निकाल्ने तयारी गरेका राजेन्द्रले यसरी नै नेपाली फिल्मको व्यवसाय खस्कदै जाने हो भने केहि बर्षमा नेपाली फिल्मको डिभिडी व्यवसाय बन्द भयो भन्दा अचम्म नमान्दा हुने तर्क अघि सारे । यस्तै उनले राम्रा फिल्म बन्न छाडेकाले नेपाली फिल्म उधोग नै धरासायी हुँदै गएको बताए । 'अब पनि मेकर सचेत नहुने हो भने डिभिडी व्यवसाय मात्र हैन फिल्म उधोग नै सुस्ताउने छ,' उनले भने ।
डिभिडीमा उपलब्ध भएको फिल्म इशारालाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । रेखा थापा, उत्तम प्रधान, भुपेन चन्द र उमा बेबीको मुख्य अभिनय रहेको लभ स्टोरी यो फिल्म गत बर्षको कार्तिक महिनामा हलमा रिलिज भएको थियो । फिल्मले सोचे अनुरूप दर्शक भने तान्न सकेको थिएन । हलमा आकर्षित हुन नसकेका दर्शक डिभिडी तिर पो आकर्षित हुन्छन् कि ?

