लामो समय पछि अभिनेत्री अरुणिमा लम्साल सार्वजनिक कार्यक्रममा भेटिइन् । अरुणिमा करिब एक बर्ष पछि हिजो (भदौ १ गते) किरण केसी राता मकैले आयोजना गरेको सम्मान समारोहमा पाहुना बनेर पुगेकी थिइन् ।

भर्खर पीपल फिल्म मार्फत अभिनयमा कम ब्याक गरेकी अरुणिमा फिल्मीखबरसँग गफिइन्- 'बच्चा भएपछि फुर्सद नै निकाल्न नसकिने । छोरी अहिले प्ले ग्रुप जान्छे ।' अरुणिमा २१ महिने छोरीसँग कपन स्थित घरमा छिन् । उनका बैङ्कर पती र उनीसँग रहँदै आएका सासु ससुरा अमेरिका भ्रमणमा छन् । अरुणिमा जानकारी दिन्छन्- 'उहाँहरु युएस गएको दुई महिना भैसक्यो । म घरमा एक्लै छु । नेपाल फर्कन अझै केही महिना लाग्छ ।'
छोरी नौ महिना हुँदा अमेरिका पुगेकी अरुणिमा भने तत्काल त्यहाँ जाने सोचमा छैनन् । भन्छिन्- 'छोरी बुझ्ने भएपछि मात्रै युएस जान्छु ।' अरुणिमाले अमेरिकामा सेटल हुने बारे भने स्पष्ट जवाफ दिइनन् । आमा भएपछि आफ्नो शरीरको वजनलाई ख्याल नगर्ने अभिनेत्रीको बानीबाट अरुणिमा मुक्त छिन् । सुत्केरी भएको ३ महिनामै आफु अभिनित फिल्म 'के यो माया हो'को प्रिमियरमा सहभागी भएर सबैलाई चकित पारेकी उनी अहिले ५८ केजीकी छिन् ।

अरुणिमा फिल्म पीपलको सुटिङ ताका मोटाएर ६४ केजी सम्म पुगेकी थिइन् । भन्छिन्- 'पाल्पामा खाने र सुत्ने मात्रै काम भयो । त्यहाँको मौसम पनि मोटाउने खालको रहेछ ।' उनी अभिनित फिल्म पीपल रिलिजको क्रममा छ । अहिले दुब्लाउनुको रहस्य बारे अरुणिमा भन्छिन्- 'सुटिङबाट फर्के पछि म र छोरी दुवै बिरामी भयौं । अर्को कुरा आफ्नो शरीरको आफुले पनि त मेन्टेन गर्नु पर्यो ।'
अरुणिमा बिरामी भएर दुब्लाइन् या पती बाहिर भएको चिन्ताले ? यो प्रश्न गर्दा उनी हाँसिन मात्रै । अरुणिमाको स्लिम शरीरलाई हेर्दा लाग्छ उनी अझै केही वर्ष अभिनेत्रीको भुमिकामा फिट छिन् !

तस्विर : महेश्वर मान सिंह

