हाँस्य कलाकार राता मकैबाट हाँस्य सम्राट मह जोडी सम्मानित भएका छन् । हाँस्य बिधाका बरिष्ठ व्यक्तित्व मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई कलाकार किरण केसी (राता मकै)ले एक औपचारिक कार्यक्रम गरी सम्मान गरेका हुन् ।
मह जोडीको सम्मानमा कलाकार केसीले नयाँ बानेश्वर स्थित इन्द्रेणी फुडल्याण्डमा एक औपचारिक कार्यक्रमको आयोजना गरेका थिए । मह जोडीसँगै उनले नेपाल र नेपाली भाषाका बरिष्ठ हाँस्य तथा व्यङग्यकार ध्रुब रत्न हाँडालाई पनि सम्मान गरे । सम्मान बारे केसीले भने- 'राज्यले दिनु पर्ने सम्मान मैले दिएको छु । उहाँहरु जस्ता बरिष्ठ कलाकारलाई राज्यले सम्मान दिन आवश्यक छ ।'


किरणले मह जोडीको शालिक निर्माण गर्न आफुलाई राज्यले अनुमती नदिएकोमा गुनासो समेत पोखे । भने- 'उहाँहरुको शालिक निर्माणमा राज्यले मलाई सहयोग गरेन । उहाँहरुको सम्मानमा शालिक निर्माण गर्ने मेरो धोको हो ।' सम्मान ग्रहण पछि हरिवंश आचार्यले भने- 'समाजमा रहेका विकृती र विसंगती विरुद्ध हाँस्य व्याङग्यकारले जोडदार आवाज उठाउनु पर्छ । यसका लागी सामुहिक कार्यको खाँचो छ ।' पत्नी रमिला सहित सम्मान कार्यक्रममा पुगेका आचार्यले फिल्म तथा टेलिफिल्म निर्माण ताका किरण केसीसँग बिताएका विभिन्न रमाइला क्षणको पनि स्मरण गरे ।


त्यस्तै मदनकृष्णले आफुलाई सम्मान गरेकोमा किरण केसीलाई धन्यावाद दिए । कार्यक्रममा वरिष्ठ फिल्मकर्मी यादव खरेल, अभिनेत्री करिश्मा मानन्धर, हाँस्य कलाकार शिवहरी पौडेल, दिपकराज गिरी, केदार शर्मा लगायत अतिथीको रूपमा उपस्थित थिए । करिब ३ घण्टा जसो सञ्चालन भएको कार्यक्रममा अभिनेत्री अरुणिमा लम्साल, अभिनेता राजवल्लभ कोइराला, कलाकार दिपाश्री निर्रौला सहित दुई दर्जन भन्दा बढी हाँस्य कलाकारको उपस्थिति थियो ।

आगामी वर्ष देखी हरेक असार १५ गते एक-एक जना पत्रकार र कलाकारलाई दश हजार राशी सहित सम्मान गरिने समेत किरण केसीले कार्यक्रममा घोषणा गरे ।
तस्विर : महेश्वर मान सिंह

