एउटै गृह जिल्ला (मोरङ)का अभिनेत्रीद्धय रेखा थापा र दिपाश्री निर्रौला बिच करिब एक वर्ष जसो बोलचाल भएन । अभिनेत्री थापालाई गत वर्षको गाईजात्रामा दिपा र दिपकराज गिरीले प्रहसनमा पात्र बनाएका थिए । गाईजात्रे व्यङ्ग्यले मन दुखेको भन्दै रेखा दिपासँग चिढिएकी थिइन् । सोही कारण रेखा र दिपाको बोल्ती बन्द भएको थियो ।

एक अर्कालाई दिदी बहिनी भनेर सम्बोधन गर्ने रेखा र दिपा सार्वजनिक कार्यक्रममा भेट हुँदा समेत बोल्दैनथे । आफ्ना नजिकका मित्रसँग यी दुई एक अर्काको बारेमा मज्जैले मनको मैला समेत पोख्ने गर्थे । फिल्म क्षेत्रमा लामो समय सम्म कोही कसैको दुश्मन हुन सक्दैन भन्ने भनाईलाई चरितार्थ गर्दै रेखा र दिपा बिचको सम्बन्धमा पनि सुधार आएको छ । एक अर्कालाई देख्दा एक आँखाले पनि नहेर्ने यी दिदी बहिनी अहिले भने अंगालोमा बाँधिन थालेका छन् ।

सञ्चारकर्मी लक्ष्मण सुवेदीको डेव्यु निर्देशन रहने फिल्म 'एउटा साथी'को शुभ मुहर्त कार्यक्रममा एक अर्काका दुश्मनको सामिप्यता यस्तो देखियो कि आसपासमा रहेका फिल्मकर्मी र सञ्चारकर्मी हेरेको हेर्यै भए । उनीहरु कार्यक्रममा पाहुना बनेर पुगेका थिए । सुन्धारा स्थित ग्यालेक्सी पार्टी प्यालेसको साँझको कार्यक्रममा दिपा भन्दा रेखा ढिला गरी पुगेकी थिइन् । कुर्ता सुरुवालमा सजिएर एउटा साथीको क्ल्याप हान्न गएकी काली रेखाले दिपाको गालामा चुम्बन दिइन् । टाईट हगलाई लभ नगर्ने रेखाले दिपालाई भने मज्जैले अंगालोमा बाँधिन् ।

रेखा र दिपाको प्रेमलाई देखेर चियाको चुस्कीमा गफ हान्नेहरु भन्दै थिए- 'को कति बेला कस्को मित्र बन्छ पत्तै नहुने ।' दिपाले यो वर्षको गाईजात्रामा पनि रेखालाई ब्यङग्य हान्ने बताएकी छिन् । यो वर्षको गाईजात्रे ब्यङ्ग्यले रेखा र दिपाको सम्बन्धलाई कस्तो असर गर्छ ? पछि नै थाहा होला ।

