काली अभिनेत्री रेखा थापाले क्ल्याप हानेर सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गर्न लागेको फिल्म 'एउटा साथी'को बिहिबार साँझ मुहुर्त गरियो । यस्तै मुहुर्तमा पहिलो अनुभव लिंदै हाँस्य अभिनेत्री दिपाश्री निरौलाले नरिवल फुटाईन् । मुहुर्त सटको निर्देशन अभिनेत्री हर्षिका श्रेष्ठले गरिन् भने क्यामेरा स्विच अनको जिम्मा गायिका निशा सुनुवारलाई दिईयो ।
भाद्र तेस्रो साताबाट फ्लोरमा जाने तयारी गरिएको यो फिल्ममा सलोन बस्नेत, रिस्ता बस्नेत, जोन तामाङ, शिशिर भण्डारी, सपना लामिछाने, रोमा न्यौपानेको साथमा नव प्रस्तुतीको रूपमा करिष्मा श्रेष्ठले अभिनय गर्दैछन् । यस्तै फिल्ममा अभिनेत्री सुमिना घिमिरे र निर्देशक नारायण पुरीको बिशेष भुमिका रहने बताईएको छ । सलोन फिल्मसको प्रस्तुतीमा शोभित बस्नेतले निर्माण गर्न लागेको लभ स्टोरी फिल्म एउटा साथीमा कथा, पटकथा तथा संवाद सुशिल पंगेनीको रहेको छ ।
मुहुर्त समारोहमा बोल्दै सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्देशनमा पहिलो पाईला चाल्न लागेकाले सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै आफ्नो तर्फबाट उत्कृष्ट मनोरञ्जनात्मक फिल्म बनाउने कोशिस रहने बताए । यस्तै उनले आफूलाई बिश्वास गरेर ५० लाख लगानी गर्न तयार भएका निर्माता सोभित बस्नेतलाई धन्यवाद समेत दिए । निर्माता बस्नेतले पनि लक्ष्मणले राम्रो फिल्म बनाएर दिने बिश्वास राखेको बताए ।
निर्माता बस्नेतले सञ्चालन गरेको म्याराथुन मुहुर्त कार्यक्रममा फिल्मका संगीतकार समेत रहेका गायक टंक बुढाथोकी र गायिका सुधा रत्नले गीत गाएर उपस्थित अतिथी तथा सञ्चारकर्मीलाई मनोरञ्जन प्रदान गरेका थिए । यस्तै कार्यक्रममा फिल्मका दुई मुख्य पात्र सलिन र करिष्माले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । फिल्मको सुटिङ काठमाण्डौ, पोखरा र जोमसोममा गरिने निर्देशकको ट्याग भिर्न लागेका सञ्चारकर्मी सुवेदीले बताए ।









तस्विर : महेश्वर मान सिंह

