फिल्म, साहित्य र खेलकुदका क्रेजी अभिनेता जीवन लुइटेलले भदौ १ गते सिङ्गापुरमा हुने एसिसी इमर्जिङ टिम्स कप क्रिकेट खेलमा सहभागी हुन लागेका नेपाली टोलीलाई शुभकामना दिएका छन् ।
श्रीलंकन नेपाली क्रिकेट कोच पुबुदु दासानायके र नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्का बिच आफु उभिएको तस्बिर फेसबुक फ्यान पेजमा सेयर गर्दै जीवनले लेखेका छन्- 'राम्रो खेल प्रदर्शन गरेर विश्वलाई हामी सक्षम छौं भन्ने देखाउनुस् । हामी सधैं तपाईहरुको साथमा हुनेछौं । लभ, जीवन लुइटेल !' रजतपटमा कवि अभिनेताको रुपमा परिचित जीवन खेलकुदमा पनि उत्तिकै चासो राख्दछन् ।
जीवनको मन पर्ने खेलमा क्रिकेट पहिलो र फुटबल दोस्रो नम्बरमा पर्न आउँछन् । भारतीय क्रिकेटर सचिन तेन्दुलकरका डाई हार्ट फ्यान जीवन नेपालमा हुने क्रिकेट खेल हेर्न अक्सर छुटाउँदैनन् । किर्तिपुरमा सम्पन्न ट्वान्टी ट्वान्टी क्रिकेट लिगमा जीवनले मैदानमै गएर नेपाली टोलीको हुटिङ गरे । प्लस टु पढ्दा धेरै नै क्रिकेट खेल्ने गरेको बताउँछन् । 'सिसा' फिल्मको सुटिङमा व्यस्त जीवन भन्छन्- 'फिल्मी करिअर सुरु भएपछि खासै क्रिकेट खेल्न पाएको छैन । तर समय समयमा हुने लिगलाई भने भ्याए सम्म हेर्ने गर्छु ।'
.jpg)
जीवनका लागी वर्ष २०६९ सुखद् रह्यो । ०६९मा मिस्टर ह्याण्सम अभिनित फिल्म मालतीको भट्टी र रिदम हिट मानिए भने बर्ष ०६९कै अन्त्यमा प्रदर्शन भएको नोटबुकले पनि दर्शकको राम्रै साथ पायो । फिल्मको व्यापार र चर्चालाई आधार मान्दै जीवन गत वर्षको उत्कृष्ट अभिनेतामा काउन्ट हुन आए । अहिलेसम्म सम्पन्न विभिन्न अवार्ड समारोहमा जीवनले उत्कृष्ट अभिनेताको ट्रफी उचालेका छन् ।
फिल्मीखबर साप्ताहिक पत्रिकाको वर्ष पुरस्कार, ओफा पपुलर अवार्ड र एनएफडिसी राष्ट्रिय चलचित्र अवार्ड जीवनकै पक्षमा रह्यो । 'सिसा' पछि जीवन 'सुकुलगुण्डा' र 'फेरी नाइ नभन्नु ल'मा व्यस्त हुनेछन् ।

