Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

सौगात भन्छन्- `बौलाहा हुँ म बौलाहा`

फिल्मीखबर, काठमाण्डौ, 2013/08/14

ठूलो पर्दा अर्थात फिल्ममा बिभिन्न चरित्र मार्फत दर्शकलाई मनोरञ्जन दिंदै आएका सौगात मल्ल यसपाली बौलाहा भएका छन् । बुधबार भक्तपुरको ठिमीको एक गल्लीमा केहि ठिटाहरूलाई लखेट्दै गरेको अवस्थामा भेटिएका लुट फिल्मका हाकु काले किन बौलाहा भए त ? रहस्य खुल्न सकेन ।

 

कुशल अभिनेताको रूपमा परिचित सौगातलाई रिलमा बौलाहा बनाउने काम मिडियाकर्मी निकेश खड्काले गरेका हुन् । निकेशले सौगातलाई पहिलो पटक म्युजिक भिडियोमा फिचर गराए त्यो पनि बौलाहाको क्यारेक्टरमा । पहिलो पटक म्युजिक भिडियोमा काम गरेका सौगातले नौलो अनुभव केहि पाएनन् । 'सुटिङ गर्नु पूर्व निकै एक्साईटेड थिएँ तर सेटमा पुगेपछि सामान्य नै लाग्यो,' सौगातले अनुभव सुनाउँदै भने- 'प्रियंकासँग काम गर्दा भने रमाईलो भयो ।'

 

यसअघि थुप्रै कलाकारलाई म्युजिक भिडियोमा प्रस्तुत गरेका निर्देशक निकेशले सौगातसँग काम गर्दाको अनुभव साट्दै भने- 'शुरूमा त डर लागेको थियो तर सेटमा प्रस्तुत भएपछि थाहा भयो कि उहाँ जति राम्रो कलाकार हुनुहुन्छ त्यति नै मिलनशार पनि ।' यस्तै नायिका प्रियंका कार्कीको पनि निर्देशकले बखान गरे । 'सौगात र प्रियंकाको केमेष्ट्री राम्रो जमेको छ ।'

 

 

 

स्टारसँग काम गर्दा केहि नयाँ गरौं भन्ने हेतुले म्युजिक भिडियोलाई फिल्मी प्याकेजमा ढालेको निर्देशक बताउँछन् । 'पहिलो पटक म्युजिक भिडियोमा फिल्मी मसला प्रयोग गरेको छु,' निर्देशक खड्काले भने- 'थ्रील, रोमान्स, सस्पेन्सले भरिएको ग्याङ्स्टार भिडियो बनाउने कोशिश गरेको छु ।' सौगातसँग पहिलो पटक स्क्रिनमा देखिन लागेकी नायिका कार्कीले निर्देशकको कन्सेप्ट राम्रो लागेको बताईन् । 'भिडियो हेर्दा फिल्म जस्तै लाग्छ,' प्रियंकाले भनिन् ।

 

 

 

सुरज थापाको शब्द, संगीत तथा स्वर रहेको गीतको बोल छ- 'बौलाहा हुँ म बौलाहा' । भिडियोमा सौगात किन र केका लागि बौलाहा हुन्छन् त भन्ने जिज्ञासामा निर्देशक भन्छन्- 'सस्पेन्स भिडियो भएकाले रिलिज सम्म सस्पेन्स नै राखौं होला ।' पहिलो पटक स्क्रिनमा देखियो यो फ्रेस जोडीले दर्शकलाई कत्तिको फ्रेस बनाउने हुन् त्यो भिडियो रिलिज पश्चात नै थाहा हुनेछ ।

 

 

 

तस्विर : महेश्वर मान सिंह