असल र सफल नागरिक उत्पादनका लागि आध्यात्मिक र नैतिक दुबै ज्ञान स्कुल देखि नै दिनुपर्छ भन्ने सन्देश दिन निर्माण गरिएको फिल्म 'स्कुल'ले युनिभर्सल सर्टिफिकेट पाएको छ ।
फिल्मले सबै वर्गका दर्शकले हेर्न मिल्ने गरि युनिभर्सल सर्टिफिकेट पाए पनि सेन्सर बोर्डले 'बास्टर्ड' शब्दहरू र अंग्रेजी संवाद भएको ठाउँमा नेपाली सबटाईटल राख्न आदेश दिएको निर्देशक विश्व बस्नेतले जानकारी गराए । आध्यात्म पक्षलाई स्क्रिप्टमा ढाल्दै तयार पारिएको स्कुलमा नीर शाह, विएस राणा, विजय लामा, रबिन्द्र खड्का, सुस्मिता बमजन, धिरेन्द्र राज थापा, शिर्जा झा लगायतले अभिनय गरेका छन् ।
सिन्दूर, नाता, एकादेशमा, चलचित्र, यस्तै रहेछ जीन्दगी जस्ता फिल्म निर्देशन गरेका बस्नेत कुशल अभिनेता समेत हुन् । दर्जनौं फिल्ममा अभिनय समेत गरेका बिश्वले स्कुललाई सिंगार्न कुनै कसुर बाँकि नराखेको बताए । राजु बिक्रम थापाले छायाँकन गरेको यो फिल्मको लोकेशन काठमाण्डौ आसपासकै क्षेत्र रहेको छ । ३ घण्टा लामो फिल्म स्कुललाई डिभाईन लाईट मुभिजले निर्माण गरेको हो ।


