गोपीकृष्ण मुभिज प्रालि, गोपीकृष्ण इन्टरटेनमेण्ट प्रालि तथा नेपाल चलचित्र विकास कम्पनी लिमिटेडका अध्यक्ष उद्धब पौडेलले यि तीनै संस्थाबाट राजिनामा दिएका छन् । विगत चार दशक देखि फिल्म क्षेत्रमा निर्माण, वितरण तथा प्रदर्शनको कार्यभार सम्हाल्दै आएका पौडेलले आजका दिनबाट कुनै पनि संस्थामा आबद्ध नहुने गरि राजिनामा दिएका हुन् ।
व्यवसायिक जीवनबाट अवकाश लिने निर्णय गरेका पौडेलले आफूले बहन गर्दै आएको नेपाल चलचित्र विकास कम्पनी, गोपीकृष्ण मुभिज र गोपीकृष्ण इन्टरटेनमेण्टको अध्यक्षको जिम्मेवारी आफ्नै छोरी निकिता पौडेललाई सुम्पेका छन् । तत्कालिन विराटनगर नगरपञ्चायतको उपप्रमुख तथा तीन दर्जन बढी सामाजिक संघ–संस्थामा आवद्ध पौडेलले अबको बाँकि समय सामाजिक कार्य र राजनीतिक क्षेत्रमा खर्च गर्ने मंगलबार जारी प्रेस विज्ञप्तीमा जनाएका छन् ।
फिल्म क्षेत्र आफ्नो जीवनको एउटा अभिन्न पार्ट भएकाले अवकास लिएपनि अप्रत्यक्ष रूपमा यो क्षेत्रमा लागिरहने पौडेलले बताएका छन् । केहि समय अगाडी मात्र सम्पन्न एनएफडिसी राष्ट्रिय चलचित्र अवार्ड सम्पन्न गरेका पौडेलले एक्कासी राजिनामा दिनुको रहस्यलाई फिल्म क्षेत्रले अर्थपूर्ण रूपमा हेरेको छ । आखिर उद्धबले किन दिए त राजिनामा ? खोजीको बिषय बनेको छ ।


