भाद्र तेस्रो साताबाट फ्लोरमा जान लागेको फिल्म नोभेम्बर रेनको लागि लोकेसन हन्ट गर्न धरान आएको टोली लोकेसन फाइनल गरेर काठमाडौँ फर्किएको छ । फिल्मको झन्डै ६० प्रतिशत छायांकन धरान आसपास क्षेत्रमा हुने भएको छ ।

फिल्मको लोकेसन हन्ट गर्न निर्देशक दिनेश राउत, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ, मुख्य सहायक निर्देशक सम्राट शाक्य, स्क्रिप्ट राइटर छेतेन गुरुङ र निर्माण नियन्त्रक सुर्य बुढाथोकी धरान आएका थिए । १ हप्ता लगाएर फिल्मको लागि आवश्यक लोकेसनको खोजी गरिएको थिए । बिशेषत: धरानमा रहेको नेपालकै ठुलो मध्यको एक हस्पिटलको रुपमा रहेको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा फिल्मको धेरै सिनको छायांकन हुने भएको छ । त्यस्तै धरानमै रहेको अन्य पर्यटकीय स्थान र फ्रेस लोकेसनमा समेत फिल्म खिचिने छ ।
धरानमा फिल्मको कथा अनुसारको मेल खाने गरि सोच अनुसारकै लोकेसन पाएको निर्देशक राउतले बताए । लोकेसन खोज्ने क्रममा धरानमा हरेक क्षेत्रबाट राम्रो सहयोग पाएको उनको तर्क थियो । त्यस्तै धरानको फ्रेस लोकेसनलाई कैद गर्न पाउदा खुसी लागेको छायाँकार श्रेष्ठले बताए । यस्तै लेखक गुरुङले कथा लेख्दाको सोच अनुसार धरानमा लोकेसन भेटिएको बताए ।

४५ दिनको सेडुअल राखिएको फिल्मको धरानमा २० दिन छायांकन गरिने छ । सुबास इन्टरटेनमेन्ट र आर्यन फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्म नोभेम्बर रेन मार्फत नायक आर्यन सिग्देल पहिलो पटक निर्माता बन्दैछन् । फिल्ममा आर्यनको साथमा नम्रता श्रेष्ठ र पुजा शर्माको मुख्य भुमिका रहनेछ । रोमान्टिक इमोसन भनिएको यो फिल्मलाई फाल्गुन महिना तिर रिलिज गर्ने योजना बनाईएको छ ।

