छैठौं नेफ्टा अवार्डलाई सभ्य, भव्य र व्यवस्थित गर्ने बारे चलचित्र प्राविधिक संघले अर्न्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । आईतवार नयाँ बानेश्वरस्थित अल्फा विटा हलमा गरिएको कार्यक्रममा करिब दुई दर्जन फिल्मकर्मीको उपस्थिति थियो ।

यही भदौको अन्तिम साता मलेसियामा आयोजना हुने कार्यक्रम कस्तो हुनुपर्छ ? भन्ने प्रश्न माथि उपस्थित फिल्मकर्मीले भिन्न भिन्न भनाई राखेका थिए । उत्कृष्ट पाँच अभिनेत्रीको मनोनयनमा पर्न सफल अभिनेत्री ऋचा शर्माले अर्न्तराष्ट्रिय स्तरमा हुन लागेको अवार्डको तयारी भव्य रुपमा हुनु पर्नेमा जोड दिइन् । मेरो लभ स्टोरीकी उत्कृष्ट अभिनेत्री शर्माले भनिन्- 'हलमा सहभागी दर्शकलाई पनि मनोरञ्जन हुने गरी कार्यक्रम हुनुपर्छ ।'

त्यस्तै कार्यक्रममा नृत्य प्रस्तुत गर्ने अभिनेत्री सुमिना घिमिरेले अवार्ड सकारात्मक सन्देश दिनु पर्ने बताईन् । भर्खर बिहे गरेका नायक तथा मोडल एशराज गरचले कार्यक्रममा प्रस्तुत गरिने नृत्य कार्यक्रमको थिमसँग मिल्नु पर्ने बताए । अभिनेता आयुष रिजालले कार्यक्रमको प्राविधिक पक्ष बलियो हुनु पर्नेमा जोड दिए । कार्यक्रममा सहभागी हुनेले सक्दो मिहेनत गर्नुपर्ने धारणा अभिनेत्री झरना थापाले राखिन् ।

फेसन स्टाइलिस निलिमा शर्माले कार्यक्रमका साना साना पक्षलाई पनि ध्यान दिएर अगाडी बढ्नु पर्ने बताईन् । निलिमाले नेफ्टा अवार्डमा नृत्य समेत प्रस्तुत गर्नेछिन् । कार्यक्रममा उपस्थित निर्माता, निर्देशक तथा अभिनेता आकाश अधिकारीले सबैले आ-आफ्नो जिम्मेवारी महसुश गरे कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । छैठौं नेफ्टाका उद्घोषकद्धय नरेश भट्टराई र सन्दिप क्षेत्रीले कार्यक्रमको समय अवधी अगाडी नै तोक्नु पर्ने धारण राखे । कमेडियन क्षेत्रीले भने- 'कार्यक्रमले सकारात्मक छाप छोड्नु पर्छ ।' यस्तै सञ्चारकर्मी भट्टराईले थपे- 'कार्यक्रममा कलाकारले बोल्ने, हिड्ने र लगाउने पोशाकमा ध्यान दिइनु पर्छ ।'

प्राविधिक संघका महासचिव अनन्त तिमल्सिनाले अर्न्तक्रियामा आएका सल्लाह सुझावलाई लागु गर्ने प्रयत्न रहने बताए । नेफ्टा प्रमुख मनोज केसीले कार्यक्रमलाई आफ्नै सम्झेर सहयोग गर्न आग्रह गरे । उनले भने- 'कार्यक्रमलाई हामी व्यवस्थित गर्नेछौं । त्यहाँ सहभागी सबैलाई एउटै सुविधा उपलब्ध गराइनेछ ।' टप थ्री कलाकार सहित करिब एक सय बीस जनालाई समुन्द्र पारिको देशमा लैजाने नेफ्टा प्रमुख केसीले जानकारी दिए । उनले भने- 'कार्यक्रममा कलाकारका दाजुभाई, आमाबुवा तथा आफन्त लगिने छैन । लिस्टका बाहेकले आफ्नै टिकटमा पनि अवार्ड सहभागिता जनाउन नमिल्ने उनले बताए ।

करिब दुई घण्टा जसो चलेको अर्न्तक्रिया कार्यक्रममा अभिनेता सौगात मल्ल, सविन श्रेष्ठ, संयम पुरी, गौरव पहारी, जयकिसन वस्नेत, नायिका वेनिशा हमाल, हर्षिका श्रेष्ठ, गायक हेमन्त राना, गायिका मल्लिका कार्की, नृत्य निर्देशक शंकर बिसी लगायतको सहभागिता थियो । नृत्य निर्देशकद्धय कमल राई र गोविन्द राईले नृत्यको प्रशिक्षण दिनेछन् । केही साता भित्रै अल्फा विटामा नृत्यकारलाई प्रशिक्षाण दिन सुरु गरिने नृत्य निर्देशक गोविन्द राईले बताए ।


