निर्माता तथा अभिनेत्री शुभेच्छा थापा त्यतिबेला तनावमा परिन् जतिबेला आफ्नै छोरीले फिल्म खेल्न अस्विकार गरिदिइन् । छोरी अनुशालाई आफ्नै लगानी रहेको फिल्म मिस नेपालमा अभिनय गराउने उनको सोच थियो । प्रवेशिका परिक्षा सकिए लगत्तै छोरीलाई लिएर फिल्म निर्माण गर्ने उनको योजना विफल भयो ।
शुभेच्छा भन्छिन्- 'छोरीले फिल्म खेल्दिन भनेपछि अर्को क्यारेक्टर खोज्नु पर्यो ।' अनुशाले मिस नेपालमा शुभेच्छाको फ्ल्यास ब्याक क्यारेक्टरलाई प्ले गर्नुपर्ने थियो । शुभेच्छा सुनाउँछिन्- 'छोरीले फिल्म खेलेको भए मेरो फ्ल्यास ब्याक क्यारेक्टर राम्रो हुने थियो । तर, मैले उसलाई कर गरिन ।' केही साल अगाडी जस्तो अहिले छोरीले फिल्म खेल्ने ईच्छा नदेखाएको शुभेच्छा बताउँछिन् । उनी भन्छिन्- 'उसले रोजेको क्षेत्रमा मेरो सहयोग रहन्छ ।'

पर्दामा छोरीलाई ल्याउने प्रयास बिफल भएको फिल्म मिस नेपाल तिहार पछि मात्रै नेपालमा रिलिज हुनेछ । त्यस अघि देशका विभिन्न स्थानमा च्यारिटी गरिने निर्मात्री तथा अभिनेत्री थापा बताउँछिन् । नारी प्रधान फिल्मलाई सबै दर्शकले रुचाउने उनको विश्वास छ । सुरेन्द्र तुलाधर निर्देशित मिस नेपालमा शुभेच्छा थापा प्रमुख भुमिकामा प्रस्तुत भएकी छिन् ।
शुभेच्छाकै कथामा निर्देशक नवल नेपालले पटकथा संवाद तयार पारेका छन् । विकास चौधरीको संगीत एवम् दिव्य सुवेदीको छायाँकन रहेको मिस नेपालको हाल सिने जोन स्टुडियोमा पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ ।

