ईनिशियल हिट फिल्म छड्के प्रचार जस्तै पर्दामा पनि 'वाह !' भैदिएको भए निर्देशक निगम श्रेष्ठ रातारात 'क' श्रेणीका निर्देशकमा गनिन्थे । पहिलो फिल्म लुटबाट चम्किएका निर्देशक निश्चल बस्नेत बन्नबाट निगम भने चुके ।
उत्साह लिएर हल प्रवेश गरेका दर्शक छड्के हेरे पछि भने निराश बन्न पुगे । छड्केबाट निगमले जस पाएनन् । तर, निगम आफ्नो दोस्रो प्रोजेक्टबाट दर्शकलाई निराश बनाउने पक्षमा छैनन् । कमजोर स्क्रिप्टले छड्के सोचे जस्तो राम्रो बन्न नसकेको निश्कर्ष निकालेका निगम अहिले दोस्रो प्रोजेक्टको स्क्रिप्ट लेखनमा व्यस्त छन् । 'छड्के लगत्तै स्क्रिप्टको काम थालेको हुँ,' निगम सुनाउँछन्- 'स्क्रिप्टलाई बलियो बनाएर मात्रै फ्लोरमा निस्कने योजना छ ।'
टाईटल फिक्स नगरिएको स्क्रिप्टमा निगम र उनका एक मित्र व्यस्त छन् । अर्का स्क्रिप्ट राईटरको नाम निगमले गोप्य राख्न चाहे । स्क्रिप्ट बारे निगम भन्छन्- 'कमेडी र मोर्डन रोमान्सलाई मुख्य विषयबस्तु बनाएका छौ । स्क्रिप्ट फाइनल भएर संविधान सभाको निर्वाचन पछि सुटिङ गर्ने योजना छ ।' दुई स्क्रिप्टमा रस ताण्डव र नयाँ कम्पनीको सहकार्य हुने निगम बताउँछन् । निर्माता नरेन्द्र महर्जनसँगको सहकार्यलाई निगमले कायम राखेका छन् ।
कमेडी र रोमान्सको कथामा नयाँ अनुहारको बाहुल्यता रहने निगमको भनाई छ । निगम भन्छन्- 'काम गर्दै जाँदा राम्रो नराम्रो दुवै हुन सक्छ । रिजल्ट जे आएपनि कामलाई निरञ्तरता दिदै जानेछु ।' निगमले दोस्रो प्रोजेक्ट कस्तो बनाउँछन् ? प्रतिक्षाको विषय हुनेछ । तर, छड्केको ह्याङले दर्शकलाई हलसम्म लैजान भने त्यती सहज नहोला ।

