विश्व फिल्मी बजार चेन्नइ एक्सप्रेसमय बनेको छ । इदको अवसरमा रिलिज भएको शाहरुख खान र दिपिका पादुकोण अभिनित फिल्मले विश्वका विभिन्न मुलकमा व्यापारिक रेकर्ड व्रेक गरेको खबर सार्वजनिक भैरहेका छन् ।
नेपालमा पनि सलमान खानको फिल्म एक था टाइगरको व्यापारिक रिपोर्टलाई व्रेक गर्ने दर्शना आर्टस्का वितरक सुनिल मानन्धर बताउँछन् । नेपाली पर्दामा चेन्नइ एक्सप्रेससँगै नेपाली फिल्म तिम्रो कसम पनि यही शुक्रबारबाट प्रदर्शनमा आएको छ । चेन्नइको हुटहुटीले नेपाली बिग ब्यानरका फिल्मलाई निर्माताले लगाउने आँट गरेनन् । तर, तिम्रो कसमलाई भने व्यापारिक राहत पुग्न सक्ने सुरुवाती व्यापारले संकेत गरेको छ ।

देशका करिब ६० पर्दाबाट रिलिजमा आएको यस फिल्मले सुरुको दिनमा राम्रै कमाइ हात पारेको वितरक बताउँछन् । तिम्रो कसमले पहिलो दिनमा करिब १२ लाख ग्रस कलेक्सन गरेको वितरक बच्चुराम बस्नेत दाबी गर्छन् । वितरक बस्नेत भन्छन्- 'इद बिदाले दर्शक हलमा ओइरिएका छन् । विना प्रचारको फिल्मले यतिको ग्रस गर्नु राम्रो हो ।'
दिनेशराज शर्मा निर्देशित फिल्मलाई नियमित दर्शकले साथ दिएको वितरकको भनाई । फिल्ममा सुवास मेचे र पुजना स्त्रीको मुख्य भुमिका छ । फिल्मलाई दिपक श्रेष्ठले निर्माण गरेका हुन् । यो साता नेपाली तर्फ तिम्रो कसम मात्र हलमा रिलिज भएको छ ।

