नेपाल धर्म निरपेक्ष राष्ट्र । नेपाल सरकारले मुस्लिम समुदायले मनाउँदै आएको इद पर्वको अवसरमा आज (साउन २५ गते) सार्वजनिक बिदा दिएको छ । आउने आइतबारसम्म चल्ने इदको पहिलो दिन नेपाली फिल्मसँग जोडिएका व्यक्तित्व पनि यसको रौनकसँग नजिक छन् ।

कलाकार तथा कस्टुम स्टाईलिस्ट मार्टिन खान परिवार र आफन्तसँग भेट्न व्यस्त छन् । थुप्रै नेपाली फिल्ममा कस्टुम डिजाईन गरेका खान भन्छन्- 'साँझ साथीहरुसँग रमाईलो गर्ने प्लान छ ।' एक महिनाको लगातार व्रतलाई व्रेक गर्ने इदलाई मित्रताको सम्बन्ध विस्तार गर्ने पर्वको रुपमा चित्रण गरिन्छ । फेसबुक फिल्मबाट कलाकारको समेत परिचय बनाएका खान भन्छन्- 'बर्षौं नबोल्नेसँग पनि इदमा गला मिलाउनु पर्छ ।' उनले आफ्नो भने कोही सँग शत्रुता नभएको बताए ।

त्यस्तै नेपाली फिल्मकी फेसन स्टाइलिस समा बानु पनि इदको रौनकमा डुबुल्की मारिरहेकी छिन् । समा सुनाउँछिन्- 'बिहान ३ बजे देखी फुर्सद पाएको छैन । घरमा आफन्त र साथीसँग रमाउन व्यस्त छु ।' समालाई इदको सबैभन्दा रमाइलो पक्ष उपहार आदान प्रदान गर्ने परिपाटी लाग्छ । समालाई गत वर्ष जस्तै यो वर्ष पनि उपहार दिनेको बाढी आएको छ । समा खुसी हुँदै भन्छिन्- 'म घरको कान्छी छोरी । सबैले माया गरेर उपहार दिनु भएको छ ।' समालाई यो वर्ष आफ्नै दाजुले दिनु भएको ट्यावलेट उपहार विशेष लाग्यो रे ।

कलाकार हसन खानले पनि आफ्ना आफन्त तथा साथीभाईसँग ईद सेलिव्रट गरे । हसन नेपाली फिचर फिल्म निर्माणको क्रममा छन् । यी सँगै थुप्रै नेपाली कलाकारले फेसबुक तथा फ्यान पेजबाट इदको शुभकामना सेयर गरिरहेका छन् । कविको परिचय बनाएका अभिनेता राजबल्लभ कोइराला आफ्नो फेसबुक पेजमा लेख्छन्- 'इद मुबारक' ।

