एक सय नजिक नेपाली फिल्ममा अभिनय गरिसकेका अभिनेता सुमन सिंहको आज (साउन २५ गते) जन्मदिन हो । धनगढी जन्मस्थान भएका अभिनेता सिंहले आफन्तको निधनले गर्दा जन्मदिनको उत्सव मनाउन पाएनन् । 'यसअघि साथीभाई तथा आफन्तसँग जन्मदिन मनाउँथे । यसपाली हजुरबुवाको बहिनीको निधन भएकाले मनाउन मिलेन,' सुमनले भने ।
३१ बसन्त पार गरेका सुमनले तुलसी घिमिरे निर्देशित फिल्म दुई किनाराबाट रजटपटमा डेव्युको अवसर पाएका हुन् । फिल्म नगरीमा सोझा अभिनेताको रुपमा परिचित सुमनका कुनै पनि फिल्मले सुपर हिटको व्यापार गर्न सकेका छैनन् । तर, उनी निर्माता निर्देशकको रोजाईबाट छायाँमा भने छैनन् ।
केही समय एक्सन कट्बाट आराम लिएका सुमन आजबाट निर्देशक ओम प्रतिकको फिल्म 'यो कथा हो मेरो'मा आवद्ध भएका छन् । 'आज साँझबाट ओम दाईको फिल्ममा व्यस्त हुन्छु,' सुमनले जानकारी गराए । सुमनद्धारा अभिनित फिल्म ग्याम्बलर भदौ ७ गते प्रदर्शन हुँदैछ । जुवाडेको रोल प्ले गरेका सुमनले ग्याम्बलरलाई फिल्म करिअरमा पुस गर्ने फिल्मको कोटीमा राखेका छन् ।
दुई किनारा खेलेका अवधीलाई काउन्ट गरेर आफु भर्खर दश वर्षको भन्ने सुमन ठट्टा गर्दै भन्छन्- 'आफुलाई सधैं जवान ठान्छु ।' आगामी दिनमा सुमनका फिल्मले बक्स अफिस कलेक्सनमा सफलताको चमत्कार देखाओस्, जन्मदिनसँगै उनलाई फिल्मीखबरको सफलताको शुभकामना !

