लामो समयको दौडधुपछि फिल्म ढुवानीलाई चलचित्र जाँच पास समितिले पिजी सर्टिफिकेट दिएको छ । चेलिबेटी बेचबिखन कथालाई मुख्य विषय बनाइएको फिल्ममा प्रयोग गरिएका संवादलाई कारण देखाउँदै सेन्सर वोर्डले ढुवानीलाई पिजी सर्टिफिकेट दिएको निर्मात्री कविता श्रेष्ठले फिल्मीखबरलाई जानकारी गराइन् ।
आफ्नो फिल्मले पिजी सर्टिफिकेट पाएकोमा रोष पोख्दै निर्मात्री श्रेष्ठले भनिन्- 'सेन्सर वोर्डका पदाधिकारीलाई पहिला सेन्सर गरेपछि मात्रै फिल्मको सेन्सर प्रक्रिया सहज बन्छ ।' सेन्सर सदस्यले फिल्मको सामान्य संवादलाई लिएर आफुलाई दुःख दिएको कविताको दुखेसो छ । चलचित्र जाँच पास समितिले पिजी सर्टिफिकेट दिए सँगै ढुवानीलाई १६ वर्ष भन्दा मुनिका बालबालिकाले अभिभावकको साथमा हेर्नु पर्नेछ ।
फिल्म ढुवानीमा पिताम्बर पाण्डेको लेखन र निर्देशन छ । फिल्ममा किशोर खतिवडा, प्रबिन खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायतले अभिनय गरेका छन् । निर्देशक पाण्डेकै लेखन रहेको यो फिल्ममा हरि लम्सालको संगीत तथा पुरूषोत्तम प्रधानको छायाँकन रहेको छ । फिल्म आउदो भाद्र २८ गते प्रदर्शनमा आउँदै छ ।
चेलीबेटी बेचबिखन बिरूद्ध जनचेतना जगाउन निर्माण गरिएको फिल्म 'ढुवानी'लाई माईती नेपालले ७५ जिल्लामा च्यारिटी गर्नेछ । चेलीबेटी बेचबिखन बिरूद्ध गर्दै आएको माईती नेपालले यो फिल्मको सार्वजनिक प्रदर्शन पश्चात च्यारिटी गर्नेछ ।

