नेपाली फिल्ममा दक्ष नव नायिकाको अभाव पूर्ती गर्न भारतको पश्चिम बङ्गालबाट प्रतिमा रसाईली काठमाण्डौ आइपुगेकी छिन् । दुई दर्जन म्युजिक भिडियो र एक दर्जन भारतीय फिल्ममा अभिनय गरिसकेकी प्रतिमा आफुलाई नेपाली फिचर फिल्मका लागी उपयुक्त पात्र भएको बताउँछिन् ।
प्रतिमाले रजतपटका पाका निर्देशक तुलसी घिमिरेको फिल्म दृष्टिकोणमा समेत अभिनय गरेकी छिन् । वर्तमान नेपाली फिल्मको बजार माथि प्रतिमाको धारणा छ- 'रात पछि दिन अवश्य आउँछ । फिल्म चल्दैन भनेर सबै जना ब्याक हुनु हुँदैन । यस्तो परिस्थितिमा झन सबैले मिहेनत गरेर अगाडी बढ्नु पर्छ ।' पुख्र्यौली घर दार्जिलिङ भएकी प्रतिमा सन् २००९ देखि अभिनय क्षेत्रमा सक्रिय छिन् ।

सन् २००७ मा सिलगुडीमा भएको लेकमी मस्ट व्युटिफुल हेयर कन्टेस्ट विनर प्रतिमा कत्थक र रविन्द्र नृत्यकी विरासत हुन् । नेपाली फिल्मका नृत्य निर्देशक कमल राईले प्रतिमालाई एउटा म्युजिक भिडियोमा मोडलिङ गराएका थिए । राईले नै उनलाई नेपाली फिचर फिल्म जीवनगाथामा नायिकाका रुपमा डेव्यु गराए । तर, यो फिल्म अहिलेसम्म प्रदर्शनमा आएको छैन ।
५ फिट ४ ईञ्च अग्ली प्रतिमा भन्छिन्- 'म नेपाली फिल्मलाई नजिकबाट नियाल्ने व्यक्ति हुँ । नेपाली फिल्मका लागी पसिना बगाउन तयार छु ।' मुस्कानले भुतुक्कै पार्ने प्रतिमा काम प्रतिको विश्वास, धैर्य र परिश्रमलाई प्राथमिकतामा राख्छिन् । आईतबार सिलगुडी फर्कने योजनामा रहेकी प्रतिमा भन्छिन्- 'राम्रो फिल्मको प्रस्ताव आयो भने काठमाडौ तिर सेटल हुन्छु ।'

