हिन्दी फिल्म वितरण गर्ने कम्पनी एप्पल र गोपीकृष्ण घाटा खाएरै भएपनि प्रतिस्पर्धीलाई हराउने खेलमा लागेका छन् । एप्पल र गोपीको दबाबमा थप दुई मल्टीप्लेक्सले चेन्नई एक्सप्रेसलाई रिलिज नगर्ने संकेत दिएका छन् ।
क्युएफएक्स अर्न्तगतको मल्टिप्लेक्स र गोपीकृष्ण हलले यसअघि नै चेन्नईको रिलिजलाई रातो झन्डा देखाई सकेका छन् । रिलिजको मुखमा आएर सिटी सेन्टरको बिग सिनेमा हल र चावहिलको केएल टावर स्थित एफक्यूब हललाई मोटो रकमको प्रलोभनमा पारेको दर्शनाको आरोप छ । वितरक सुनिल मानन्धर भने साँझ सम्म फिल्म रिलिज हुनेमा सहमती जुट्ने विश्वास व्यक्त गर्छन् ।
यी हल बाहेक नै शाहरुख खान र दिपिका पादुकोण स्टारर फिल्म नेपालका करिब ७० नजिक पर्दामा रिलिज हुने मानन्धरको जानकारी छ । आज साँझ बिग सिनेमा हलमा हुने भनिएको चेन्नेईको भिआइपी शो पनि रोकिएको छ । आफ्ना सर्कलका हलमा दर्शना आर्टस्ले वितरण गर्ने फिल्मलाई रिलिज नगर्न दबाब दिएर आफ्नो कम्पनीलाई पराजय गर्ने खेलमा एप्पल र गोपी लागी परेको मानन्धरले आरोप लागाए ।
दर्शना आर्टस्को दोस्रो वितरण रहेको शाहरुखको बहुचर्चित फिल्मलाई एप्पल र गोपीले आफ्ना रोहवरका हलमा रिलिज नगर्न उर्दी जारी गरेको बताइन्छ । तर, आफ्नो कम्पनीलाई कमजोर नठान्न चेतावनी दिदै मानन्धर भन्छन्- 'यो हाम्रो क्लाईमेक्स हैन, कास्टिङ मात्रै हो ।' बिग मुभीज सिनेमाका म्यानेजर दिपक मेहताले चेन्नई एक्सप्रेस रिलिज गर्ने सम्भावना रहेको बताए । 'आज टुंगो लाग्छ,' उनले भने ।
'हामी कसैको दबाबमा आएर फिल्म नचलाउने पक्षमा छैनौं । भोलीबाट चेन्नै एक्सप्रेस लाग्नेछ,' एफक्यूबका म्यानेजर अरुण रिजाल भन्छन्, 'हामी फिल्म चलाउन बसेका हौं त्यसैले आफ्ना दर्शकलाई फिल्म हेर्नबाट बञ्चित गराउने छैनौं । दुई मल्टिप्लेक्स हलबाट आएको प्रतिक्रियाले एप्पल र गोपी हल फिल्म प्रदर्शनमा सिन्डिकेट लगाएर आफु मात्रै मैदानमा रजाई गर्न चाहने कुराको झल्को दिएको छ । तर, मनोरञ्जन लिन पाउने दर्शकको अधिकारलाई कुण्ठित पारेर आफु विजयी हुने एप्पल र गोपीको खेल झेली रहेको धेरैको टिप्पणी छ ।

