पहिलो लगानीको फिल्मबाट अभिनेता सुवास थापा सुरक्षित हुन चाहन्छन् । त्यसकारण सुवास आफ्नो प्रोजेक्ट माथि कुनै सम्झौता गर्ने पक्षमा छैनन् । फिल्म घाटा नजाओस् भनेरै सुवासले आफ्नै स्क्रिप्टलाई समेत विश्वास गरेनन् ।
फिल्म 'विर्खेलाई चिन्छस्'को लागी प्रारम्भिक सेटिङमा सुवासले लेखेको स्क्रिप्टलाई ओके गरिएको थियो । सुवास भन्छन्- 'आफ्नो प्रोजेक्टमा जोखिम नउठाउने भनेर स्क्रिप्टको सबै जिम्मा जगदिश्वर थापालाई दिइएको छ ।' स्क्रिप्ट लेख्ने आफ्नो रहरले प्रोजेक्ट गतिलो बन्न नसक्ने निर्णय गर्दै स्क्रिप्टीङको सबै जिम्मा जगदिश्वरलाई दिइएको सुवासको भनाई छ ।
आफ्नो स्क्रिप्टलाई रिजेक्ट गरेका सुवास 'विर्खेलाई चिन्छस्'मा अब पूर्ण रुपमा अभिनेता तथा निर्माताको रुपमा प्रस्तुत हुनेछन् । जीन्दगीको सुन्दर सपना देख्ने आम युवाको कथालाई अराज केशवले निर्देशन गर्नेछन् । अराजको यो पहिलो फिचर फिल्म निर्देशन हुनेछ । निरज कंडेलको छायाँकन रहने फिल्मको आउने आइतबार एनएफडिसी सेटबाट सुटिङ प्रारम्भ हुनेछ ।
मोहित मुनालको संगीत रहेको फिल्मको सुटिङ काठमाण्डौ र चरिकोटमा हुने अभिनेता तथा निर्माता थापाले जानकारी दिएका छन् । फिल्ममा एनवी महर्जनको द्धन्द्ध निर्देशन रहनेछ । करिब ४५ लाख रुपैयाँ लगानी अनुमान गरिएको 'विर्खेलाई चिन्छस्'मा सुवास सहित विनिता खड्का, मार्टिन खान, बालदीप राई, सुरेश उप्रेती लगायतको अभिनय रहनेछ ।

