नायिका गरिमा पन्त र नन्दिता केसी युरोपमा अलपत्र परेको खबर अनलाईनहरूमा छ्याप्छ्याप्ती भएको छ । उनीहरू खान नपाएको र आयोजकले बेवास्ता गरेको खबर बाहिरिएपछि फिल्मीखबरसँगको सम्पर्कमा नायिकाद्धय पन्त र केसीले आफूहरूलाई केहि नभएको बताउँदै फैलिएको खबरमा कुनै तुक नरहेको बताए ।

'हामीलाई केहि भएको छैन, खै कस्ले नचाहिने हल्ला गरिरहेको छ,' नायिका केसीले भनिन्- 'हामी तीन (आफू सहित गरिमा र गायिका रिमा गुरूङ)को गफलाई बङ्याएर हल्ला गरिएको हो ।' यस्तै अर्की नायिका पन्तले पनि आयोजकसँग कुनै लफडा नपरेको बताईन् । 'बार्बी क्यू कार्यक्रममा गएका थियौं जहाँ अर्को कार्यक्रम भईरहेको थियो । हामी एकछिन गाडी भित्र बसेर कुरा गरेका थियौं । त्यहि कुरालाई बङ्ग्याईएको हो,' नायिका पन्तले भनिन् ।

तस्विर : हाम्रो इभेन्ट्स डट कम
आफूहरू अहिले बेल्जियमको लुभेन शहरको एक अपार्टमेन्टमा बसिरहेको नायिकाद्धयको भनाई छ । 'हामीलाई खान बस्न कुनै समस्या छैन,' नन्दिताले भनिन् । गत तीन तारिखमा लुभेनमा भएको साँस्कृतिक कार्यक्रम निकै राम्रो भएको जानकारी दिंदै केसीले थपिन्- 'अब स्पेन, हल्याण्ड र जर्मनमा प्रस्तुती दिंदै छौं ।' कार्यक्रमका लागि युरोपका थुप्रै शहरबाट डिमान्ड आईरहेको नन्दिताको भनाई छ ।

११ तारिखका दिन स्पेनमा आफ्नो कला प्रस्तुत गर्ने तयारीमा रहेका नायिका द्धय पन्त र केसी सहित गायिका गुरूङ र गायक मिङ्मा शेर्पा अक्टुबर २५ तारिखका दिन नेपाल फर्कने छन् ।

