नेपाली फिल्मको लागी अनुचित बन्दै गैरहेका विदेशी भुमी कलाकारको लागी भने आकर्षणको केन्द्र बन्दै छ । साउन महिना मात्रै एक दर्जन नजिक कलाकार नाच्न, गाउन र हँसाउन विदेश यात्रामा निस्किएका छन् ।
केही साता अघि अभिनेत्रीद्धय नन्दिता केसी र गरिमा पन्त युरोप टुरमा निस्किए । करिब १ महिनाको अवधीमा नन्दिता र गरिमाले विभिन्न युरोपियन मुलुकमा नृत्य पस्कनेछन् । नन्दिता र गरिमा पछि अभिनेता भुवन केसी, शुष्मा कार्की, रिमा विश्वकर्मा लगायतको टोली मलेसिया पुगेका छन् । यो समुहले मलेसियका विभिन्न शहरमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछ । भुवन, शुष्मा र रिमाको टोली मलेशिया ओर्लन नपाउँदै विल्सन विक्रम राई, अभिनेत्री निता ढुङ्गाना पनि मलेसिया उडेका छन् ।
पछिल्लो समयका हिट तक्मे बुढाले मलेसियामा विश्वका सबै भन्दा होचा नेपाली चन्द्र बहादुर डाँगीसँग नृत्य र प्रहसन प्रस्तुत गर्नेछन् । उनको मलेसिया टुर दोस्रो पटक हो । मलेसियामा विल्सन पहिलो पटक श्रमको शिलशिलामा पुगेका थिए । गाला रातै गीतमा नृत्य प्रस्तुत गर्ने निता फिल्म 'छ एकान छ'को आफ्नो भागको सुटिङ सकाएर मलेसिया तर्फ लागेकी हुन् । यी सँगै अन्य कलाकार पनि विदेश पस्ने तयारीमा छन् ।

त्यस्तै पछिल्लो एक वर्ष फिल्ममा निस्क्रिय रहेकी ऋचा सिंह ठकुरी पनि आजै मलेसिया उडेकी छिन् । उनी एकल प्रस्तुतीका लागि मलेशिया प्रस्थान गरेकी हुन् । 'मलाई त्यहाँ सम्मान पनि गरिंदै छ,' ऋचाले फिल्मीखबरसँग मलेसिया प्रस्थान गर्नु अघि भनिन्- 'मैले त्यहाँ एकल प्रस्तुती दिनेछु ।' अभिनेत्री सुमिना घिमिरेले पनि केही महिना पछि मलेसिया उढ्ने बताएकी छिन् । बाढी पिडितको सहयोगार्थ रकम संकलन गर्न सुमिनाले त्यहाँ नृत्य प्रस्तुत गर्नेछिन् । मलेसिया उड्ने मिति भने तय भैसकेको छैन ।
लुटले विस्तार गरेको विदेशी फिल्म बजार पछिल्लो पटक व्यापारिक रुपमा ध्वस्त भएको फिल्मकर्मीको भनाई छ । राम्रो कमाई गर्ने भनेर खरिद गरिएका कुनै पनि नेपाली फिल्मले विदेशमा रहेका नेपालीलाई आकर्षण गर्न सकेनन् । तर, कलाकारको डिमान्ड भने दिन प्रतिदिन बढ्दो छ । पछिल्लो पटक विदेशी भुमिमा कलाकारको डिमान्ड बढदो छ, तर त्यही कलाकारले खेलेको फिल्मको व्यापार शून्य जस्तै छ । फिल्मको निराश व्यापारले विदेशमा कलाकार हिट र फिल्म फ्लप भन्ने चर्चा फिल्मी बजारमा छ ।

