विल्सन विक्रम राई (तक्मे बुढा) पछिल्लो समयका निकै व्यस्त कलाकार हुन् । २ बर्षको बिचमा २५ भन्दा बढि देशमा आफ्नो कला प्रस्तुत गर्न पुगेका विल्सनले फिल्मीखबर मार्फत मलेशियामा भाँडा माझ्न पुगेको रहस्य खोलेका छन् ।
मलेशियामा हुन लागेको 'एभरेष्ट कन्सर्ट २०१३'मा आफ्नो प्रस्तुती दिन भोली मंगलबार त्यसतर्फ प्रस्थान गर्न लागेका विल्सनले ४ बर्ष अगाडी म्यानपावरको माध्यमबाट मलेशिया भाँडा माझ्न गएको रहस्य खुलाए । 'एक कोरियन रेष्टुरेन्टमा भाँडा माझ्न गएको थिएँ तर टिक्न सकिन,' ३ महिना मात्र मलेशियामा बसेर नेपाल फर्केका विल्सनले भने- 'आर्थिक अवस्था सुधार्न मलेशिया गएको थिएँ तर नेपाली कलाकारिताको मोहले त्यहाँ बस्न सकिन र नेपाल फर्कें ।'
दीपशिखा, सम्झना तथा बोके दार्ही जस्ता फिल्ममा अभिनय गरेपश्चात विल्सन मलेशिया पुगेका थिए । 'त्यहाँ मेरो फिल्मको डिभिडी पुगेछ । दर्शकले त्यहाँका नेपालीले फिल्म हेरेपछि मलाई नेपाल फर्केर अभिनयमा सक्रिय हुन प्रेरणा दिनुभयो,' विल्सनले थपे- 'आज उहाँहरूकै प्रेरणाले कलाकार भएर मलेशिया जाँदैछु त्यो पनि हँसाउन ।'
एक लाख २० हजार रूपैंया तिरेर मलेशिया भाँडा माझ्न पुगेका विल्सन अहिले त्यो भन्दा बढि रकम लिएर दर्शक हँसाउन मलेशिया पुग्दै छन् । 'निकै खुसी लागेको छ,' गर्वका साथ विल्सन थप्छन्- 'म मलेशियामा नै भाँडा माझेर बसेको भए आज अन्य कलाकारको प्रस्तुती हेर्न मैले टिकट काट्नु पर्थ्यो । हिजो जस्ले प्रेरणा दियो आज तिनै दर्शकलाई हँसाउन जाँदै छु । यो भन्दा ठुलो उपलब्धी मेरो लागि के हुन सक्ला र ?'

यस्तै विल्सनले मलेशिया जाँदा ऋण लिएको एक लाख बिस हजार रूपैंया तक्मे बुढा भएपछि ब्याज सहित २ लाख बुझाएको बताए । 'थुप्रै देशको भ्रमण गरिसकें तर आफ्नो कला प्रस्तुत गर्न पहिलो पटक मलेशिया जाँदै छु । निकै उत्साहित छु,' विल्सन भन्छन्- 'मलेशिया मेरो मनसँग जोडिएको देश हो ।' विल्सनले मलेशियाबाट फर्के पश्चात सायद फिल्ममा अभिनय गरेको बताए । सायद पश्चात नै विल्सनको कलाकारिताले नयाँ मोड लिएको हो ।

नेपाल आदिवासी जनजाती महासंघ मलेशियाको आयोजनामा हुन लागेको एभरेष्ट कन्सर्टमा विल्सनको साथमा नायिका नीता ढुंगाना, गायकद्धय रोज मोक्तान, मिलन लामा, विश्वकै होँचा नेपाली चन्द्रबहादुर डाँगी सहित कलाकारहरू बिष्णु चेम्जोङ, भावना गुरूङ, सम्झना लामिछाने मगर र बिभिन्न बिधामा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका थानेश्वर गुरागाईं सहभागी हुँदैछन् । कार्यक्रम अगष्ट ८, ९, १० र ११ तारिखमा मलेशियाको क्रमश: चिनओ स्टेडियम, बिएम देवान हल, बन्दरा स्टेडियम र पोर्टकेलाङ देवान हलमा हुनेछ ।
तस्विर : महेश्वर मान सिंह

