बलिउड किङ खानको जर्बजस्त फ्यान नेपालमा नहुने विरलै होलान् । पछिल्लो समय प्रतिक्षाको पर्खाइमा रहेको शाहरुख खान र दीपिका पादुकोण स्टारर फिल्म चेन्नई एक्सप्रेसको रिलिजलाई लिएर विश्व फिल्मी बजार दिन गन्तिमा व्यस्त छ ।
शाहरुको चेन्नईले अहिलेसम्मको विश्व बलिउड बक्स अफिस रेकर्डलाई तोड्ने धेरैको आङ्कलन छ । तर, नेपालमा भने चेन्नई एक्सप्रेसको रिलिजलाई लिएर वितरक बिच जुहारी चलिरहेको छ । बिहिबार साँझ सम्म पनि दर्शना आर्टससँग एप्पल र गोपिकृष्ण टिमसँग सहमती नभएमा शाहरुखको फिल्मले नेपालका मुख्य मल्टिप्लेक्समा रिलिजको अवसर पाउने छैन ।
दर्शना आर्टस बलिउड फिल्मको नेपाल वितरणमा पछिल्लो पटक थपिएको कम्पनी हो । एप्पल नजिक मानिएको क्युएफएक्स अन्र्तगत र गोपिकृष्णको पकडमा रहेको स्टेशनमा चेन्नई एक्सप्रेस रिलिज हुने सम्भावना न्यून छ । यसअघि दर्शना आर्टस्ले वितरण गरेको रमैया वास्तभैया पनि गोपि र एप्पल नेटवर्कका हलमा रिलिज भएको थिएन ।
चेन्नई एक्प्रेसलाई चल्न नदिएर आफ्नो कम्पनीलाई असफल बनाउने प्रयास गरिरहेको दर्शनाका नेपाल प्रमुख सुनिल मानन्धर बताउँछन् । मानन्धर भन्छन्- 'फिल्म नचलाउँदा घाटा सिधै हललाई नै जान्छ । प्रतिक्षित फिल्मलाई दर्शकले जुन हलमा गएर भएपनि हेर्छन् ।' गोपी र क्युएफएक्स बाहेक देशका करिब ५० वटा हलमा चेन्नई एक्सप्रेस रिलिज हुने मानन्धरको दाबी छ ।
तर, एप्पल प्रमुख नखिम उद्धिनले भने फिल्म चलाउन पाउने हलको अधिकार भएको भनाई सार्वजनिक गरेका छन् । यद्पी तीनै कम्पनीले सहमतीको सम्भावनालाई भने कायम राखेका छन् । तीन वितरण कम्पनीको भित्रि स्वार्थ जे भएपनि शाहरुको फिल्मले मेजर स्टेशनमा प्रदर्शनको अवसर गुमाउनुले दर्शक त दुःखी बन्छन् नै साथमा हलवालालाई पनि फाइदा नहुने फिल्म पण्डितको विश्लेषण छ ।

