मेरो एउटा साथी छ, के यो माया हो र मेरो लभ स्टोरीमा युवापुस्ताको फरक प्रेम प्रसंगलाई मुख्य विषय बनाएका निर्देशक सुदर्शन थापाले पछिल्लो पटक भने फिल्म धन्दामा युवा बेरोजगारको समस्यालाई प्रस्तुत गरेका थिए ।
अर्पण थापा लिड क्यारेक्टर रहेको धन्दाले समिक्षकबाट राम्रै प्रतिक्रिया पायो तर व्यावसायिक सफलतामा चुक्यो । त्यसैले फ्राइडे फिल्मसले पाँचौ प्रोजेक्टलाई प्रेममय बनाएको छ । धन्दा पछि पुनः रोमान्टिक स्टोरीमा ब्याक भएका निर्देशक थापाले 'मधुमास' फिल्ममा दर्शकले स्टोरी भन्ने शैलीमा फरक स्वाद पाउने बताएका छन् । पहिलो चरणको फिल्म सुटिङ पश्चात रेष्टमा रहेका सुदर्शनले भने- 'हरेक फिल्ममा नयाँ स्वाद पस्कने प्रयास गर्छु । मधुमासबाट दर्शकले कथा भन्ने शैलीमा भिन्नता पाउनु हुनेछ ।'
तिहारको अवसर पारेर कार्तिक १५ मा रिलिज गर्न लागिएको आर्यन सिग्देल, पूजा शर्मा, सिवाङ्गिनी राणा र मनोज आरसी अभिनित मधुमासलाई युवा दर्शकले अत्याधिक रुचाउने समेत उनको विश्वास छ । बाबुराम दाहाल निर्माता रहेको मधुमासलाई थ्रिलर फिल्म भन्न रुचाउने सुदर्शन भन्छन्- 'फिल्ममा चाहिने मसला सबै प्रयोग गरेको छु । दर्शकले फिल्म मन पराउनु हुनेछ ।' सुदर्शनको कथा भन्ने फरक शैली र विश्वासको परिक्षा दर्शकले कस्तो मार्क गर्छन् ? रिलिज पछि नै रिजल्ट आउनेछ ।

