आउँदो भाद्र २८ गते रिलिज हुन लागेको फिल्म 'राजनीति' युनिटले पब्लिसिटीमा राम्रै राहत मिल्ने आश गरेको छ । अभिनेता राजेश हमाल र अभिनेत्री तथा गायिका कोमल ओली मंसिर ४ गते हुने भनिएको संविधान सभाको चुनावमा उठ्ने हल्लाले फिल्मको पब्लिसिटीलाई सहयोग पुर्याउनेमा युनिट आशावादी छ ।
'फिल्मले वर्तमान अवस्थाको चित्रण गरेको छ जसले गर्दा फिल्म आफैमा चर्चित हुनेछ,' निर्देशक बसन्त निरौलाले भने- 'त्यसैमाथी मेरो फिल्मका दुई मुख्य पात्र नै राजनीतिमा छिर्ने हल्ला चलिरहेको छ ।' राजेश र कोमलको राजनीतिमा छिर्ने सम्भावना न्यून देखिन्छ । 'उहाँहरू रियलमा नछिरे पनि रिलमा त छिर्नु भएको छ नि', बसन्तले ठट्टा शैलीमा भने- 'फिल्ममा उहाँहरूको भुमिका र अभिनय हेर्ने हो भने दर्शकले साँच्चिकै राजनेताको रूपमा पाउने छन् ।'
बिएन फिल्सको व्यानरमा दीपक सुवेदी र दीपक कुमार भट्टराईले निर्माण शुरू गरेको फिल्म 'राजनीति' मा राजेश र कोमलको साथमा दीपक कुमार भट्टराई, दीपक सुवेदी र पवित्रा आचार्यको पनि मुख्य भुमिका रहेको छ । फिल्ममा अर्जुन पोखरेलको संगीत, शिव ढकालको छायाँकन तथा अष्ट महर्जनको द्धन्द रहेको छ ।
बेलाबेला राजनीतिमा प्रवेश गर्ने अर्न्तवार्ता दिने हमाल यतिबेला चुनावमा उठ्ने हल्ला चल्नु र कोमलले टिकट पाए उठ्ने मनशाय व्यक्त गर्नुले फिल्म राजनीतिलाई कस्तो प्रभाव पार्ला ? रिलिज मितिलाई कुर्नु पर्ने हुन्छ ।

