आफूलाई नेपाली सोनु निगम भन्न रूचाउने चर्चित नेपाली गायक प्रमोद खरेल अहिले निकै दंग छन् । भारतिय गायक निगमले आफ्नो प्रशंशा गरिदिएपछि गायक खरेल दंग परेका हुन् ।
प्रबेग एल्बममा रहेको महेश खड्काको संगीत तथा राजेन्द्र थापाको शब्दमा प्रमोदले गाएको 'जता ततै चलेको छ..' बोलको गीत सुनेर सोनुले प्रशंशा गर्दै उनलाई आशिर्वाद दिएका हुन् । एक भिडियो मार्फत सोनुले भनेका छन्- 'तपाईं (प्रमोद)को गीत सुनेर मलाई निकै खुसी लाग्यो । तपाईंले साँच्चिकै राम्रो गाउनु भएको छ ।'
यता गायक खरेलले आफ्नो प्रशंशा गर्दा खुसी लागेको बताए । 'उहाँले मेरो गीत सुनेर आफैंले भिडियो रेकर्ड गरि पठाउनु भएको हो,' प्रमोदले भने- 'यसरी बलिउडको गायकले नेपाली गायकको प्रशंशा गर्नु राम्रो हो जस्तो लाग्यो र भिडियो शेयर गरें ।'
सोनुले प्रशंशा गरून् या नगरून्, गायक खरेलले साँच्चिकै राम्रो गीत गाउँछन् जुन नेपाली स्रोताले उनलाई स्विकारी सकेका छन् । नेपाली पार्श्व गायनमा पछिल्लो समय निकै व्यस्त रहेका गायक खरेल बैदेशिक साँगितिक कार्यक्रममा पनि उत्तिकै व्यस्त रहने गर्दछन् ।
गायक खरेल आउने सोमबार अष्ट्रेलियाम हुन लागेको साँगितिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दैछन् । आदिवासी दिवसको अवसर पारेर आदिवासी महासंघ अष्ट्रेलिया (निम्फा)ले प्रमोदको एकल साँगितिक कार्यक्रमको आयोजना गरेको हो । उनको कार्यक्रम अगस्ट १०, ११ र १२ तारिखका दिन सिड्नी र मेलबर्नमा हुनेछ ।
v

